यतिबेला नेपालका हलमा फिल्मको ठूलो चाप देखिएको छ । नेपाली र विदेशी फिल्मले हल भरिभराउ छन् । त्यसमा कुनै नयाँ छन् त कुनै पुराना फिल्म । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा मात्र अहिले दशवटा फिल्म प्रदर्शन भैरहेका छन् । त्यसमध्ये ६ वटा विदेशी र ४ वटा नेपाली छन् । यसरी हेर्दा हलमा फिल्मको अभाव छैन । र, केही फिल्मले राम्रो व्यापार पनि गरिरहेका छन् ।
दशवटा फिल्ममध्ये ‘बाटोः रोड टु डेथ’, ‘चन्दु च्याम्पियन’ र ‘द वाचर्स’ शुक्रबार (आज)बाट प्रदर्शनमा आएका हुन् । यसमध्ये ‘बाटो’ नेपाली हो भने ‘चन्दु च्याम्पियन’ बलिउड र ‘द वाचर्स’ हलिउड हुन् । यीसहित पुरानो रिलिजमा नेपालीतर्फ ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘गाउँ आएको बाटो’ छन् । विदेशीतर्फ भने ‘ब्याड बोइज’, ‘मुन्ज्या’, ‘मिस्टर एन्ड मिसेज माही’ र हाइक्यु’ प्रदर्शनरत छन् ।
बिना प्रचार प्रदर्शनमा आएको ‘बाटो’ क्राइम-थ्रिलर जनरामा बनेको हो । बुधबार भएको प्रिमियरमा फिल्मले सुखद् प्रतिक्रिया प्राप्त गरेको थियो । तर, दर्शकको ठूलो जमातमा फिल्मको बारेमा जानकारी नै पुगेको छैन । जसको असर व्यापारमा पर्ने निश्चित प्रायः छ । नेपालीसँगै तमिल, तेलुगु र हिन्दी गरी चारवटा भाषामा बनेको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् ।
मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको फिल्मका निर्माता चन्दन झा हुन् । दक्षिण भारतीय फिल्मका शरण ऋषिले छायांकन गरेको यो फिल्म करिब २ वर्ष अगाडि नै तयार भइसकेको थियो । फिल्मको प्राविधिक काम धेरैजसो दक्षिण भारतमा गरिएको हो ।