नेपाली फिल्ममा धेरै कलाकार भए पनि हरेक विधामा निपूर्ण थोरै मात्र छन् । अभिनयमा अब्बल भएका नृत्यमा कमजोर देखिन्छन् । एक्सन राम्रो हुनेको अभिनय र नृत्य उम्दा देखिन्न । यसैले नेपाली फिल्ममा ‘प्याकेज हिरो’ नभएको अक्सर चर्चा हुन्छ । तर, कुनै समय अभिनेता सुशील क्षेत्रीले आफूलाई हरेक विधामा प्रमाणित गरेका थिए । अभिनय, नृत्य र एक्सनमा उनी निपूर्ण मानिन्छन् ।
‘आगो’ हिरोको रुपमा चिनिएका उनले ५० बढी फिल्ममा अभिनय गरेका छन् । तर, ५/७ वर्षयता उनी फिल्ममा देखिएका छैनन् । अमेरिका बस्न थालेपछि उनको अभिनय यात्रा टुटेको हो । तर, यतिबेला विदेश बस्ने पुराना कलाकारहरुको पुनरागमन बढिरहेको समयमा सुशील पनि फिल्ममा फर्केका छन् । उनले शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’बाट कमब्याक गरेका हुन् ।
यही बुधबार अमेरिका सेड्युल पूरा भएको फिल्ममा सुशीलले एक गीतमा नृत्य गरेका छन् । गीत छायांकनका केही तस्वीर आफ्नो फेसबुकमा राख्दै उनले फिल्ममा आफू जोडिएको जानकारी गराए । तर, गीतबाहेक फिल्ममा उनको अभिनय नरहेको जनाइएको छ । यद्यपि, गीतमा मात्रै भए पनि लामो समयपछि सुशीललाई ठूलो पर्दामा देख्न पाउनु उनका प्रशंसकका लागि रोमाञ्चक हुनेछ ।
‘तेल भिसा’मा सुशीलसँगै अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले पनि काम गरेकी छन् । गत वर्ष छायांकन भएको फिल्म ‘भूठान’बाट उनले कमब्याक गरेकी थिइन् । ‘तेल भिसा’को अब असार पहिलो सातादेखि चितवनमा सेट नै खडा गरेर ३० प्रतिशत छायांकन हुने निर्देशक घिमिरेले जानकारी गराए । फिल्ममा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे लगायतको पनि अभिनय छ ।