मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किरण श्रेष्ठ : सपना लाहुरे बन्ने तर हिरो बने

फिल्मीखबर, काठमाडौं, 2024/06/14

गत वर्ष आएको फिल्म ‘पर्खि बसें तिमीलाई’बाट डेब्यु गरेका अभिनेता हुन्, किरण श्रेष्ठ । यो फिल्म व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि उनले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । अब उनको दोस्रो फिल्म ‘दान्भी’ आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । डेब्यु फिल्ममा लभर ब्वाईको रुपमा प्रस्तुत भएका उनी यसमा भने एक्सन अवतारमा देखिँदैछन् ।

 

kiran shrestha (2)


तर, फिल्मका लागि उनले एक्सनमा खासै मिहिनेत गर्नुपरेन । किनकि, उनी आफैं तेक्वान्दो खेलाडी हुन् । ‘मैले तेक्वान्दोबाट राष्ट्रिय खेलहरु पनि खेलें । सन् २००७ देखि २०१२ सम्म म तेक्वान्दो खेल्थें । यसैले पनि एक्सनमा मलाई गाह्रो भएन । तैपनि श्री श्रेष्ठ (द्वन्द्व निर्देशक)सँग एक दुई/दिनको क्लास लिएको थिएँ । त्यसपछि छायांकन सेटमै गएर एक्सन कोरियोग्राफी भयो,’ किरणले सम्झिए ।

फिल्ममा उनी ‘सिआइबी अफिसर’को भूमिकामा छन् । पहिलो फिल्मलगत्तै काम गर्नुपरेकाले उनले चरित्र निर्माणमा खासै मिहिनेत गर्न पाएनन् । यद्यपि, आफूले चिनेका प्रहरीसँग उनले केही दिन संगत गरेका थिए । ‘मैले हाउभाउ र लुक्समा थोरै मात्र परिवर्तन गर्न पाएँ । दुरुस्तै सिआइबीजस्तो त देखिएन, तर पुलिससँग केही दिन संगत गरेकाले त्यो चाहिँ आयो होला,’ उनले हाँस्दै सुनाए ।

‘दान्भी’को एक्सन सिक्वेन्स दर्शकलाई मनपर्ने उनको विश्वास छ । उनलाई लाग्छ, नेपालमा यो स्तरको एक्सन फिल्म कमै बनेको छ । ‘नेपालमा यत्तिको एक्सन फिल्म कमै बनेको छ । जुन हिसाबले ‘एक्सन कोरियोग्राफी’ भएको छ, त्यो नेपाली फिल्ममा कमै होला । कथामा ‘सस्पेन्स’ पनि धेरै छ,’ किरण भन्छन् । फिल्ममा अभिनेत्री पूजा शर्मासँग आफ्नो ‘लभ सिक्वेन्स’ पनि रहेको उनले जनाए ।

किरण फिल्ममा आइपुग्नुको कथा नै रोचक छ । उनी खासमा ब्रिटिस लाहुरे बन्न चाहन्थे । तर, सन् २०१६ मा उनकी दिदीले ‘मिस्टर नेपाल’मा सहभागी हुन पठाइन् । त्यहाँका एक प्रतिस्पर्धीले ‘ट्यालेन्ट राउण्ड’मा गरेको अभिनयबाट उनी प्रभावित भए । यसपछि उनकै सल्लाहमा मण्डला थिएटरमा अभिनय सिकेका उनले केही नाटकमा काम पनि गरे । यसपछि उनको प्रवेश फिल्ममा भयो ।

 

kiran shrestha (1)


किरण एक्सन फिल्म गर्ने इच्छा ‘दान्भी’मा पूरा भएको खुसी देखिन्छन् । भन्छन्, ‘तेक्वान्दो खेलाडी भएकाले मलाई एक्सन फिल्ममा काम गर्न मन थियो । यो फिल्ममा एक्सन कलालाई देखाउन पाएको छु ।’ रुपेश तामाङमा बनेको फिल्ममा किरणसँगै पूजा शर्मा, कुन्साङ बोमजम, मोनासिला खतिवडा, राजाराम पौडेल लगायतको पनि अभिनय छ । फिल्मको कथा भने पूजामाथि केन्द्रित छ ।