नेपाली फिल्मलाई सबैभन्दा ठूलो डर भनेकै विदेशी फिल्म हो । त्यसमा पनि अझ बढी बलिउड र साउथ । यी दुई इन्डस्ट्रीका ठूला ‘स्टार’ र ‘सिक्वेल’ फिल्मसँग जुध्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु मानिन्छ । यसैले उताको रिलिज क्यालेन्डर हेरेर मात्र यताको रिलिज तय गरिन्छ । तर, जब बलिउड र साउथ फिल्मको रिलिज हेरफेर हुन्छ तब नेपाली फिल्मको रिलिज ‘सेड्युल’ नै विग्रिन्छ ।
आगामी साउन ३१ गते प्रदर्शनमा आउने भनिएको साउथ फिल्म ‘पुष्पा २’ पोस्टपोन्ड भएर अब दशैंमा आउनसक्ने चर्चाले यतिबेला फिल्म क्षेत्रमा राम्रै हलचल ल्याइरहँदा बलिउडको ठूलो फिल्म ‘सिंघम ३’ तिहारमा आउने निश्चित भएपछि नेपाली निर्माताहरुलाई टाउको दुखाईको विषय बनेको छ । किनकि, तिहारलाई लक्षित गरेर केही नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भइसकेको छ ।
तिहारको लक्ष्मीपूजा (कात्तिक १५)मा अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’ आउने तयारीमा छ । त्यस्तै, हाँस्य अभिनेता जितु नेपाल स्टारर फिल्म ‘ज्वाइँसाब’ले पनि तिहार विदा ‘बुक’ गरेर बसेका छ । अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘जेरी अन टप’ पनि तिहार विदामा आउने चर्चा छ । अब तिहारमै ‘सिंघम ३’ आउने भएपछि नेपाली फिल्मको रिलिज प्रभावित हुने देखिन्छ ।
‘सिंघम ३’का अघिल्ला दुई श्रृंखला नेपालमा राम्रो चलेका थिए । त्यसमाथि यसपटक फिल्ममा ‘स्टार’ कलाकारको झुण्ड छ । अजय देवगनसहित फिल्ममा अक्षय कुमार, करीना कपूर, दीपिका पादुकोण, रणवीर सिंह, टाइगर श्राफ आदिको अभिनय छ । एकातिर सफल फ्रेन्चाइज र अर्कोतिर ठूला स्टार भएकाले यो फिल्मले नेपालको बक्सअफिसमा ठूलै हलचल ल्याउने आँकलन गरिएको छ ।
त्यसो त तिहारमा बलिउडबाट ‘सिंघम ३’ मात्र छैन । अर्को सिक्वेल फिल्म ‘भूल भूलैया ३’ पनि प्रदर्शन हुँदैछ । यी दुईवटा फिल्मको डरले अब कुन-कुन नेपाली फिल्मले मैदान छाड्छन्, त्यो हेर्न बाँकी छ । तर, गत वर्षको तिहारमा ठूलो बलिउड फिल्म ‘टाइगर ३’ आउँदा पनि ‘दिमाग खराब’ले बाजी मारेको नजीर छ । यसैले अब भिड्न आँट गर्ने कि भाग्न बाटो खोज्ने, त्यो निर्माताकै हातमा छ ।