गत वर्ष घोषणा गरिएको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आगामी नोभेम्बर १६ अर्थात् मंसिर १ गते अमेरिकास्थित सन फ्रान्सिस्कोमा आयोजना हुने भएको छ । ‘सतीदेवी’ निर्माण कम्पनी गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र हिमालयन फाउन्डेसन कर्पले संयुक्त रुपमा आयोजना गर्न लागेको अवार्डको बारेमा बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच जानकारी गराइएको थियो ।
२०८० साउन १ देखि ०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरुले अवार्डमा आवेदन दिन पाउनेछन् । अवार्ड आयोजक टिममा अभिनेताद्वय शिव श्रेष्ठ, सुनिल थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटुवाल र रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी रहेका छन् । अवार्डमा सहभागी हुन नेपालबाट करिब दुई दर्जन कलाकार अमेरिका जाने जनाइएको छ ।
आयोजक संस्था गोल्डेन स्टेट मुभीका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली फिल्म क्षेत्रको विकास, विस्तार एवं समृद्धिका लागि अमेरिकामा अवार्ड आयोजना गर्न लागिएको जनाए । म्याराथुन धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा भाग लिएर मेडल समेत जितेका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । खेलाडी, सफल व्यवसायी हुँदै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
पपुलर अवार्डका रुपमा आयोजना हुन लागेको यो कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । साथमा केही कलाकारलाई विशेष योगदान सम्मान समेत प्रदान गर्ने आयोजकको तयारी छ । अवार्डबारे जानकारी दिन आयोजित कार्यक्रममा नीर शाह, शिव श्रेष्ठ, भुवन चन्दसहितका कलाकारबाट सामाजिक संस्था सिन्धुपाल्चोक समाजको उद्घाटन समेत गरिएको थियो ।