नेपाली फिल्मको सफल जोडी मानिएका दयाहाङ राई र मिरुना मगरको नयाँ फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । युट्युबमा टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहँदा निमाण टिमले प्रचारलाई पनि तीव्रता दिन थालेको छ । त्यसको सुरुवात शनिबार टुँडिखेलमा भएको मगर समुदायको पर्व ‘भूमे’को अवसरमा आयोजित विशेष कार्यक्रमबाट गरियो ।
उक्त कार्यक्रममा दयाहाङ र मिरुनासहित कलाकारहरु शिशिर वाङ्देल, भोलाराज सापकोटा, निर्देशक अनिल बुढामगर लगायत सहभागी भएका थिए । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा फिल्मको टिमलाई मञ्चमा नै आसन ग्रहणको व्यवस्था मिलाइएको थियो भने आयोजकले दयाहाङसहितका पुरुष कलाकार र निर्देशकलाई शिरमा सेतो फेटा बाँधिदिएका थिए ।
कार्यक्रममा बोल्ने क्रममा दयाहाङले नेपाल बहुजाति देश भएकाले एकअर्काको संस्कार र संस्कृतिलाई बुझ्न जरुरी रहेको औंल्याए । आफू राई समुदायको भए पनि ‘घरज्वाइँ’मा मगर युवाको जीवन बाँच्न पाएको जानकारी गराउँदै उनले आफ्नो चरित्रलाई न्याय गर्न प्रयास गरेको र दर्शकहरुलाई फिल्म मनपर्ने विश्वास व्यक्त गरे । फिल्म मगर समुदायको कथामा बनेको पनि उनले प्रष्ट्याए ।
मिरुनाले भने फिल्ममा काम गर्दा मगर समुदायको संस्कार र संस्कतिलाई नजिकबाट बुझ्न पाएको अनुभव सुनाइन् । उनले भनिन्, ‘सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई खासै बुझ्न पाएको थिइनँ । ‘घरज्वाइँ’ले यो अवसर जुराइदियो । म पूर्वेली मगर भएकाले पनि पश्चिमतिरको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो । ‘घरज्वाइँ’बाट त्यो इच्छा पूरा भएकोमा खुसी छु ।’
यस्तै, अर्थमन्त्री पुनले फिल्मलाई सफलताको शुभकामना व्यक्त गर्दै दयाहाङ र मिरुनाको पछिल्लो फिल्म ‘जारी’ हेरेको स्मरण गरे । ‘दुवैजना भर्सटायल कलाकार हुनुहुन्छ,’ उनले भने, ‘दयाहाङजी ‘जारी’मा लिम्बू पात्र भएर मिरुनाजीलाई तान्दै हुनुहुन्थ्यो । अहिले मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा पनि नेपाली समाजलाई जोड्ने फिल्म गर्दै जानुहोला, शुभकामना छ ।’
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, विना थापा मगर, अनु थापा, सोनाम लामा लगायतको पनि अभिनय छ । सुसन प्रजापतिले छायांकन गरेको फिल्मको कथा निर्देशक मगर आफैंले लेखेका हुन् भने उनलाई पटकथा र संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।