म्यूजिक भिडियो नियमित हेर्ने दर्शकका लागि कुन्साङ बोम्जन नयाँ अनुहार होइनन् । उनले ३५/४० वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । फिल्ममा भने उनको डेब्यु ‘दान्भी’बाट भएको छ । यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर उनी जति उत्साहित छन्, आफ्नो काम रुचाइनेमा आशावादी पनि देखिन्छन् । फिल्ममा उनको चरित्रको नाम ‘सारांश’ हो ।
उनलाई ‘दान्भी’मा आफ्नो चरित्र चाखलाग्दो छ भन्ने लाग्छ । ‘मेरो चरित्रको बारेमा अहिले धेरै खुलाउन चाहिँ मिल्दैन । यद्यपि, मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु,’ उनी भन्छन् । कक्षा ११ सम्म कराँते सिकेका उनले बाल्यकालदेखि स्कुलमा हुने नाटकमा समेत अभिनय गर्दै आएका रहेछन् ।
सेन्ट जेभियर्समा अध्ययन गरेका उनी भन्छन्, ‘मैले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट सिकेँ । ११ पछि मार्सल आर्ट छुट्यो । मार्सल आर्टलाई निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न धेरै सजिलो हुन्थ्यो होला । तर, बीचमा ग्याप भएकाले यही फिल्मका लागि मैले झन्डै ६ महिनासम्म एक्सन तामिल लिएको थिएँ ।’ अभिनयप्रति रुचि भने उनलाई स्कुलमा नाटक गर्न थालेपछि बढेको रहेछ ।
उनले कक्षा ६ देखि १२ सम्म धेरै नाटकमा मुख्य भूमिकामा अभिनय गरेका थिए । विदेशबाट समेत कलाकारहरु नाटक सिकाउन स्कुलमा आइरहन्थे । नेपाली र अंग्रेजी दुवै नाटकमा उनले अभिनय गरे । त्यसबेला फिल्मको ‘हिरो’ हुन्छु भन्ने चाहिँ उनले कल्पना गरेका थिएनन् । तर, आफ्नो भविष्य उनले अभिनयमा नै देखेका थिए । ‘दान्भी’बाट त्यो सपना पूरा भएकोमा कुन्साङ खुसी छन् ।
म्यूजिक भिडियोमा उनको रोमान्टिक छवि बनेको छ । ‘दान्भी’ले त्यो परिवर्तन गर्नेमा उनी विश्वस्त छन् । उनलाई फिल्ममा आफूले काम देखाउन पाएको छु भन्ने लाग्छ । ‘सुरुदेखि अन्त्यसम्म जुन रुपमा मेरो क्यारेक्टर गएको छ, त्यसको फिलिङ, इमोसनमा काम देखाउन पाएको छु । दर्शकलाई मेरो काम फरक लाग्नेछ,’ उनले भने । यसमा उनको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिएको छ ।