दक्षिण भारतीय फिल्मका भर्सटायल अभिनेताको रुपमा चिनिन्छन्, विजय सेतुपति । हिरोको परम्परागत मानक तोड्न सफल उनी सकारात्मक र नकारात्मक दुवैखालको चरित्रमा उत्तिकै जमेका छन् । तर, कुनै समय उनको शारीरिक बनावट र रुपरंगलाई लिएर निकै मजाक उडाइन्थ्यो । अहिले उनै विजयले साउथ फिल्ममा सर्वाधिक सफल अभिनेताको रुपमा आफ्नो स्थान बनाएका छन् ।
तर, उनको फिल्ममा आउने सपना थिएन । केवल उनी गरिबीबाट निस्किन चाहन्थे । आफ्नो विगत सम्झँदै उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई अहिले पनि याद आउँछ कि एउटा केटा थियो, जसको कुनै सपना थिएन । जीवनमा के गर्ने भन्ने नै थाहा थिएन । पहिलो वर्ष कलेज पढ्दा अर्को वर्षको सिलेबस के हुन्छ भन्ने पनि थाहा थिएन ।’ आफू पढाईमा राम्रो नभएको विजय सम्झन्छन् ।
‘मेरो गर्लफ्रेन्ड नै थिएन । किनकि, म एकदमै लजालु स्वभावको थिएँ । कसैसँग कुरा पनि गर्दिनँ थिए,’ उनी सम्झन्छन्, ‘म जीवनमा केही गर्न चाहन्थेँ । तर, त्यो कसरी गर्ने भन्ने थाहा थिएन । त्यसबेला मेरो एउटै लक्ष्य भनेको गरिबीबाट बाहिर आउनु थियो । अहिले पनि त्यो दिनहरु खुब सम्झन्छु ।’ पढाईको क्रममा सेल्सम्यान, क्यासियर र फोन बूथ अपरेटरजस्ता काम गरेको विजय सम्झन्छन् ।
कमर्समा ग्रेजुएट भएपछि उनी कमाउनका लागि दुबई गएका थिए । तर, त्यहाँको जागिरबाट सन्तुष्ट नभएपछि उनी सन् २००३ तिर भारत फर्किए र विवाह गरे । यसपछि उनले साथीहरुसँग मिलेर इन्टिरियर डेकोरेशनको काम सुरु गरेका थिए । पछि मार्केटिङ कम्पनीमा जोडिए । फोर्ब्ससँगको कुराकानीमा उनले भनेका छन्, ‘यदि मेरो विजनेश राम्रोसँग चलेको भए कलाकार बन्दिनँ थिएँ ।’
नाटक, टीभी सिरियल तथा सर्ट फिल्म हुँदै उनले ‘पुदुपेट्टई’ (२००६)बाट सहायक कलाकारको रुपमा फिल्ममा प्रवेश गरेका थिए । उनले मुख्य भूमिका निभाएको पहिलो फिल्म भने ‘अखाडा’ हो, जुन सन् २०१० मा आएको थियो । सन् २०१२ मा आएको ‘पिज्जा’ले भने उनलाई अब्बल कोटीको कलाकारको रुपमा स्थापित गर्यो । यसपछि उनले आफ्नो करिअर कहिल्यै फर्केर हेर्नु परेको छैन ।