अभिनेता राजबल्लभ कोइरालाले करिब ९ वर्षपछिको कमब्याक फिल्म ‘एक्टर’को छायांकन सकाएका छन् । गत जेठ दोस्रो साता फिल्मको छायांकनका लागि उनी अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । आइतबार आफ्नो भागको छायांकनसँगै डबिङ समेत पूरा गरेर उनी सोही साँझ अमेरिका फर्किसकेका छन् । प्राप्त जानकारी अनुसार, यसमा उनी नकारात्मक भूमिकामा देखिनेछन् ।
अमेरिका फर्किएपछि राजबल्लभले फेसबुकमा स्टाटस लेख्दै बीचमा केहीपटक नेपाल आए पनि ११ वर्षपछिको मातृभूमि आगमन निकै विशेष बनेको उल्लेख गरेका छन् । निर्देशक र निर्मातासहित प्राविधिक र कलाकार टोलीले आफ्नो सेड्युल समयमै पूरा गर्न सहयोग गरेकोमा आभार व्यक्त गर्दै उनले समय व्यस्तताले गर्दा साथीभाईहरुसँग भेटघाट गर्न नपाएकोमा भने क्षमा मागेका छन् ।
हालै एक पोडकास्टमा उनले फिल्मबाट विश्राम लिएर अमेरिका जानुको कारण समेत खुलाएका छन् । उनी भन्छन्, ‘फिल्म भनेको ३ घण्टाको हुन्छ । बाँकी २१ घण्टा त मेरो आम जिन्दगी छ । त्यो २१ घण्टाको जवाफदेहिता मैले लिनुपर्छ भनेरै फिल्मबाट ‘एग्जिट’ लिएको हुँ । तर, फिल्म क्षेत्र एकदमै मिस गर्थेँ । यसैले त फर्किएँ । स्क्रिप्ट र चरित्र मनपर्यो भने भोलिका दिनमा पनि फिल्म गर्छु ।’
राजन भुषालको डेब्यु निर्देशन तथा थमन कुमार भण्डारीको निर्माण रहेको ‘एक्टर’मा राजबल्लभसहित प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देवको पनि अभिनय छ । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।