मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तोष सेनले जब कार्तिक आर्यनसँग प्रदीपलाई दाँजे

फिल्मीखबर, काठमाडौं, 2024/06/17

santos sen and pradeep

 

नेपालीमा एउटा प्रचलित भनाई छ, ‘जति बुझ्यो त्यति कठीन, झन् झन् बुझ्यो झन् झन् कठीन ।’ अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेनबीचको सम्बन्ध पनि यही भनाईजस्तै छ । जति बुझ्यो त्यति नै कठीन हुन्छ । कहिले दाजु-भाईजस्ता देखिन्छन् त कहिले भेटघाट र बोलचाल नै बन्द हुन्छ । ‘प्रेमगीत ३’को बेला घनिष्ट देखिएका उनीहरुको यतिबेला सम्बन्ध चिसिएको चर्चा उत्कर्षमा छ ।

तर, प्रदीपको फिल्म ‘पूजार सार्की’को पोस्टरदेखि ट्रेलरसम्म फेसबुकमा सेअर गर्दै निर्माता सेनले शुभकामना दिएका थिए । फिल्म रिलिजपछि प्रदीपको अभिनयको पनि खुलेरै प्रशंसा गरे । प्रदीपले पनि सन्तोषको आगामी फिल्म ‘बलिदान’मा विराज भट्टका छोरा भित्रिएपछि शुभकामना दिएका थिए । यसरी हेर्दा उनीहरुबीच सम्बन्ध राम्रै देखिन्छ । तर, देखिएजस्तो सम्बन्ध नभएको बताइन्छ ।

आइतबार सन्तोषले फेसबुकमा लेखेको स्टाटस भने निकै अर्थपूर्ण छ । उनले बलिउड ‘स्टार’ कार्तिक आर्यनसँग प्रदीपलाई दाँजेका छन् । यही शुक्रबारबाट प्रदर्शनरत कार्तिक अभिनीत बायोपिक फिल्म ‘चन्दु च्याम्पियन’ हेरेपछि उनले लेखेका छन्, ‘हेर्नैपर्छ ‘चन्दु च्याम्पियन’ । बलिउड कार्तिक आर्यन । यदि नेपालमा त्यो स्तरमा कोही गर्छ त मात्र प्रदीप खड्का (पिके) । दुवैजना च्याम्पियन ।’

 

santosh sen


प्रदीपसँग सम्बन्ध चिसिएको चर्चाबीच सन्तोषले उनलाई अभिनयको आधारमा कार्तिकसँग दाँजेर प्रशंसा गर्नु आफैंमा अर्थपूर्ण छ । कार्तिक र प्रदीप दुवै ‘रोमान्टिक हिरो’ कहलिन्छन् । तर, फरक विषयका फिल्ममा पनि उनीहरुले आफूलाई प्रमाणित गरेका छन् । यसैले सन्तोषले कार्तिकसँग प्रदीपलाई दाँजेका हुनसक्छन् । ‘पूजार सार्की’ हेरेपछि पनि उनले प्रदीपलाई ‘अद्दभुत’ भनेका थिए ।

तर, रोचक कुरा के छ भने सन्तोषको कुनै पनि स्टाटस न प्रदीपले सेअर गरेका छन् न कमेन्टमा धन्यवादको शब्द खर्चिएका छन् । यसले भने उनीहरुबीच सम्बन्ध सन्तुलित नरहेको बुझाउँछ । नभए प्रदीप आफ्नो प्रशंसामा फिल्मकर्मीले लेखेको स्टाटसमा अक्सर प्रतिक्रिया जनाउँछन् । अब सन्तोषसँग उनको वास्तवमै सम्बन्ध विग्रिएको हो वा विग्रिएजस्तो मात्र देखाएका हुन्, बुझ्न कठीन छ ।