यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को प्रचारमा यतिबेला अभिनेत्री पूजा शर्माको राम्रै दौडधुप देखिएको छ । हरेक दिन मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ भइरहँदा उनी वृक्षरोपणमा पनि सहभागी भएकी छन् । पशुपति मन्दिरको पूर्वमा रहेको मृगस्थली वन क्षेत्रमा सोमबार बिहान उनले फिल्मका अभिनेता कुन्साङ बोमजनको साथमा वृक्षरोपण गरेकी थिइन् ।
पूजाले खनेको खाल्टोमा कुन्साङले विरुवा राख्ने काम गरेका थिए । यो कार्यलाई पूजा एकअर्काको परिपूरकको रुपमा अर्थ्याउँछिन् । उनले भनिन्, ‘हामी एकअर्काको परिपूरक हौं भन्ने हिसाबले मिलेर विरुवा रोपेका हौं ।’ कुन्साङले पनि आफूहरु ‘एक सिक्काको दुई पाटा’ झैँ रहेको तर्क गरे । ‘दान्भी’मा जोडीको रुपमा प्रस्तुत भएकाले पनि उनीहरुले यो अभिव्यक्ति दिएको हुनसक्ने बुझिन्छ ।
पूजा रुख जोगाउन आवश्यक रहेको पनि औंल्याउँछिन् । उनी भन्छन्, ‘काठमाडौंमा अहिले रुखभन्दा घर धेरै छन् । काठमाडौंमा घरको बढी विकास भएकोजस्तो लाग्छ । यसैले उजाड ठाउँ सकेसम्म कम बनाउन वृक्षरोपण गर्नुपर्छ । हामीलाई बचाउने भनेकै रुखविरुवाले हो । यही सखाप बनाउँदै जाने हो भने भोलि हामी नै सखाप हुने दिन आउनसक्छ । त्यसैले पनि रुख जोगाउनुपर्छ ।’
बदलाको कथामा आधारित ‘दान्भी’मा पूजा ‘एक्सन लेडी’को रुपमा प्रस्तुत छिन् । पहिलोपटक उनले एक्सन भूमिकामा काम गरेकी हुन् । यो फिल्म उनकै काँधमा भएकाले व्यावसायिक सफलता र कामको प्रशंसा दुवै हुन आवश्यक छ । यसैले उनले पनि दबाब महसुस गरिरहेकी छन् । दुई हप्ताअघि रिलिज ट्रेलरमा उनको छरितो एक्सन देखिएको थियो । जसलाई धेरैले तारिफ गरेका छन् ।