कुनै बेला नेपाली फिल्मलाई बलिउडको त्रास थियो । विशेषगरी तीन खान (सलमान, शाहरुख र आमिर)को फिल्म आउँदा हलमा केही हप्ता नेपाली फिल्म नै लाग्दैन थिए । अचेल भने साउथ फिल्म टाउको दुखाईको विषय बनिरहेको छ । ‘बाहुबली’, ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले नेपालमा गरेको कमाई हेर्दा साउथका ठूला स्टार र सिक्वेल फिल्मसँग भिड्न सहज देखिँदैन ।
यसैले त अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’को रिलिज ‘पोस्टपोन्ड’ हुँदा नेपालमा समेत ठूलो हलचल आयो । आगामी साउन ३१ गते अर्थात् १५ अगस्टमा आउने भनिएको यो फिल्म छायांकन नसकिएका कारण ‘पोस्टपोन्ड’ भएपछि अब दशैंको फूलपाती वा नवमीमा रिलिज हुनसक्ने आँकलन गरिएको थियो । जसले गर्दा दशैंमा फिल्म रिलिज गर्न तम्तयार नेपाली निर्माताहरु त्रसित थिए ।
तर, ‘पुष्पा २’ दशैंमा नआउने भएको छ । सोमबार एक पोस्टर रिलिज गर्दै डिसेम्बर ६ (मंसिर २१ गते)लाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । यसले नेपाली निर्मातालाई भने हाईसन्चो भएको छ । दशैंमा ‘पुष्पा २’ आएको भए नेपाली फिल्मको व्यापारमा ठूलो असर गर्ने निश्चित थियो । यसपालिको दशैंमा ‘छक्का पञ्जा ५’देखि ‘बेहुली फ्रम मेघौली’सम्म प्रदर्शनमा आउने तयारीमा छन् ।
‘पुष्पा २’ आउन लागेको नयाँ मितिमा (मंसिर २१)मा अहिलेसम्म कुनै नेपाली फिल्मले रिलिज घोषणा गरेका छैनन् । सम्भवतः अब गर्ने पनि छैन । ‘पुष्पा २’का निर्माताले ‘क्वालिटी कम्प्रोमाइज’ नगर्न प्रदर्शन मिति परिवर्तन गरेको जनाएका छन् । यसको अघिल्लो श्रृंखलाले भारतमा मात्र ३ सय करोडमाथि कमाएको थियो । अब सिक्वेलले विश्वभर एक हजार करोड कमाउन सक्ने आँकलन छ ।