फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अप्रत्यासित व्यापार गर्यो । प्रदर्शनको ५१औं दिन समेत मनाएको फिल्मले दश करोडमाथि व्यापार गरेको छ । फिल्मले सफलता पाए पनि टिमभित्र भने असन्तुष्टि देखिएको छ । आइतबार फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारतीले निर्मात्री केकी अधिकारप्रति लक्षित गर्दै आफूलाई बेवास्था गरिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका थिए ।
फिल्ममा महत्त्वपूर्ण भूमिकामा अभिनय गरेकी अभिनेत्री रमा थपलियाले पनि केकीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । २ हप्ताअघि सुत्र टीभीसँगको अन्तर्वार्तामा उनले प्रिमियरमा सहभागी भए पनि फिल्मको प्रचारमा आफूलाई नबोलाएको र फिल्म हिट भएपछि बधाई दिन फोन गर्दा समेत केकीले नउठाएको भन्दै गुनासो पोखेकी छन् । यसरी स्वार्थी नबन्न केकीलाई थपलियाको सुझाव छ ।
उनी भन्छिन्, ‘एकपटक केकीले फोन गरेर गीत (बुझिनँ मैले) हिट भएकोमा बधाई दिनुभएको थियो । मैले तिमीलाई पनि बधाई छ नानी भनेको थिएँ । अब अन्तर्वार्ताहरु दिनुपर्छ समय निकाल्नु है दिदी भन्नुभएको थियो । म अहिले बाहिर छु, फर्केर आएपछि गर्छु नि भनेँ । तर, त्यसपछि बोलाउनु नै भएन । त्यो कुराले चित्त चाहिँ दुख्यो । फिल्म हिट भएपछि पनि उहाँले वास्ता गर्नुभएको छैन ।’
फिल्म राम्रो चलेपछि बधाई दिन फोन गर्दा पनि केकीले नउठाएको गुनासो गर्दै रमा अगाडि भन्छिन्, ‘फिल्म त्यसरी चलेपछि बधाई दिन फोन गरेको थिएँ । फोनको घन्टी पूरा गयो तर उठाउनुभएन । त्यसले गर्दा पनि चित्त दुख्यो । उहाँलाई यसरी ‘सेल्फिस’ नबन्नु भन्न चाहन्छु ।’ यो फिल्ममा रमाले केकीको सासुको भूमिका निर्वाह गरेकी छन् । उनीहरुले ‘परदेशी २’मा समेत काम गरेका थिए ।
अहिले केकी ‘बोक्सीको घर’को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । आइतबार त्यहीँ उनले फिल्म प्रदर्शनको ५१औं दिने सेलिब्रेसन मनाइन् । फिल्मको सफलतासँगै सिक्वेल समेत घोषणा भइसकेको छ । तर, टिमभित्रको तीव्र असन्तुष्टिले सिक्वेल निर्माण अन्योल देखिएको छ । अब केकीले निर्देशक र कलाकारको टिम नै परिवर्तन गरेर नयाँ कथामा सिक्वेल बनाउन सक्ने सम्भावना देखिन्छ ।