गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले दोस्रो फिल्मको रुपमा ‘बन्दी’ निर्देशन गर्ने भएका छन् । सुशील पोखरेलको निर्माणमा बन्न लागेको फिल्मको कथा सुशील देवकोटाले लेखिरहेका छन् । स्क्रिप्ट फाइनल गरेर अबको केही महिनामा छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । बन्दीको अर्थ बन्धक बनाइनु भन्ने हुन्छ ।
पोखरेलले करिब ६ वर्षपछि फिल्म निर्माण गर्न लागेका हुन् । उनले पछिल्लोपटक फिल्म ‘यात्रा’ बनाएका थिए, जुन २०७५ सालमा आएको थियो । त्यसअघि उनले ‘राधे’, ‘निगरानी’, ‘बडिगार्ड’ जस्ता फिल्महरु बनाइसकेका छन् । २०६२ सालमा बन्धक बनाइएका सैनिकको पीडा र संघर्षको कथामा ‘बन्दी’ बन्ने उनले जानकारी दिए । अर्थात् फिल्म सत्य कथामा आधारित भएर बन्न लागेको हो ।
निर्देशक सुनारले भने ‘बुलाकी’भन्दा अगाडि केही म्यूजिक भिडियोको निर्देशन गरेका थिए । ‘रेलको बाटो’ उनी निर्देशित लोकप्रिय गीतमा पर्छ । उनले ‘टुल्की’ भन्ने फिल्मको कथा पनि लेखेका छन् । ‘बुलाकी’पछि उनी फिल्म ‘फनफनी’को निर्देशकमा अनुबन्धित भएका थिए । मुख्य अभिनेतामा आर्यन अधिकारीलाई समेत अनुबन्ध गरिएको थियो । तर, यो फिल्म निर्माण नै हुन सकेको छैन ।