केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रंगहरु’मा कलाकारको ‘लाइनअप’ रोचक बनिरहेको छ । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्ममा सुनिल थापा, पदम तामाङ, बुद्धि तामाङ जस्ता कलाकारहरु भित्रिसकेका छन् । यसैक्रममा ‘प्रेमगीत ३’का अभिनेता मनिष राउतको पनि फिल्ममा प्रवेश भएको छ । यसमा उनी भिलेनको भूमिकामा देखिने जनाइएको छ ।
‘प्रेमगीत ३’मा पनि उनी नकारात्मक भूमिकामा देखिएका थिए । यो उनको डेब्यु फिल्म थियो । अस्कर कलेजमा अभिनय सिकेका उनले डेब्यु अगावै दर्जनौं सर्ट फिल्ममा अभिनय गरिसकेका थिए । उनले केही म्यूजिक भिडियोमा पनि काम गरेका छन् । उनको केमियो भूमिका रहेको फिल्म ‘खजुरे ब्रो’ गत बैशाखमा आएको थियो । उनी ‘मायाका रंगहरु’लाई लिएर उत्साहित देखिएका छन् ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने सह-निर्मातामा जनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । पुनम तामाङको प्रस्तुति रहेको फिल्ममा शेखर ज्ञवालीको कथा लेखन छ भने सौरभ लामाको छायांकन, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत तथा रामजी लामिछाने, सुष्मा सोनम र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।