मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

पूजाको अडान: ‘बरु आफैं फिल्म बनाउँछु तर काम माग्दिनँ’

फिल्मीखबर, काठमाडौं, 2024/06/19

अभिनेत्री पूजा शर्माले टेकेको धरातल फिल्म ‘प्रेमगीत’ले बनाएको हो । यसले उनको करिअरको रुपरेखा नै बदल्यो । अहिले उनी ‘स्टार’ कहलिएकी छन् । युवापुस्तामा राम्रो क्रेज छ । लभस्टोरी फिल्ममा रुचाइएकी छन् । यसरी हेर्दा पूजाको करिअर सफल नै देखिन्छ । तर, उनले चरित्रमा भने विविधता पस्किन सकेकी थिइनन् । ‘प्रेमगीत’बाट जुन छवि बन्यो, उनी त्यसमै रमाउँदै आइन् ।

अब भने पूजाले चरित्रमा विविधता खोज्ने प्रयास गरेकी छन् । यसको श्रीगणेश फिल्म ‘दान्भी’बाट भएको छ । यही शुक्रबार (असार ७ गते)बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनी एक्सन भूमिकामा देखिँदैछिन् । ‘लभर गर्ल’को छवि मेट्ने उनका लागि यो राम्रो अवसर हो । तर, यसका लागि उनले एक्सनमा भने आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेछ । यो उनका लागि ठूलो चुनौती हो ।

‘दान्भी’मा पूजाले मेशिनगन समेत चलाएकी छन् । तर, उनले मेशिनगन बोकेको पोस्टर सार्वजनिक भएपछि धेरैले खिसिटिउरी गरे । मेशिनगन बोक्दाको ‘एक्सप्रेसन’ र ‘मुमेन्ट’ नै नभएको भन्दै उनको ट्रोल बनाइयो । तर, उनलाई लाग्छ, एउटा केटीले मेशिनगन बोकेकाले यसरी आलोचना भएको हो । त्यही मेशिनगन कुनै हिरोले बोकेको भए सबैबाट वाहवाही हुन्थ्यो भन्ने पूजाको बुझाई छ ।

 

Pooja Sharma


‘मैले बोकेको मेशिनगन कुनै हिरोले बोकेको भए एकदमै तारिफ हुन्थ्यो । तर, एउटा केटीले गरेकाले गन बोक्दाको ‘एक्सप्रेसन’ नै भएन भनेर आलोचना गरियो । मैले गन बोकेको छु भने त्योसँग म डराउने होइन नि त । अरुलाई हानिरहेको छु भने गनसँग सहज पो हुने हो त,’ उनले भनिन् । आफूलाई आलोचना सहने बानी परिसकेकाले यसको मतलब लाग्न नै छाडिसकेको उनको भनाई छ ।

‘दान्भी’ गरेपछि पूजालाई एक्सन फिल्मको प्रस्ताव बढी आइरहेको छ । तर, उनी यो फिल्मको नतिजापछि मात्र निर्णय लिने सोचमा देखिन्छिन् । उनले खोजेको नतिजा चाहिँ एक्सनमा गरेको प्रयासको प्रशंसा हो । उनी भन्छिन्, ‘मैले गरेको प्रयास रुचाइयोस् भन्ने चाहेको हुँ । निर्माता सुरक्षित हुन् भन्ने त भइहाल्छ । तर, केटीले यतिसम्म पनि एक्सन गरेछ भनेर प्रशंसा भयो भने म खुसी हुन्छु ।’

एक्सनमा पूजाको प्रेरणाको स्रोत भने अभिनेत्री रेखा थापा हुन् । रेखाको एक्सनबाट उनी निकै प्रभावित छिन् । तर, ‘दान्भी’ गरेपछि उनले एउटा कुरा भने राम्रैसँग बुझेकी छन्, एक्सन फिल्ममा जति दुःख अरु कुनैमा हुँदैन । तर, काम गर्न मज्जा पनि यसैमा रहेको उनको अनुभव छ । ‘दान्भी’मा रिक्स मोलेर काम गरेको बताउने पूजा दर्शकलाई एक्सनमा फरकपन महसुस हुनेमा विश्वस्त छिन् ।

‘प्रेमगीत’पछि उनलाई फिल्मको अभाव भएको छैन । फिल्ममा उनको राम्रो माग देखिन्छ । तर, करिअर जस्तोसुकै भए पनि मागेर चाहिँ काम नगर्ने उनको अडान छ । ‘मलाई फिल्म क्षेत्रमा हात समातेर हिँडाउने कोही छैन । म एक्लै लडेर हिँडिरहेको छु,’ उनी भन्छिन्, ‘अहिलेसम्म म कसैसँग फिल्म माग्न गएको छैन । बरु मलाई के हिम्मत छ भने आफैं फिल्म बनाउँछु, तर काम माग्दिनँ ।’