अघिल्लो वर्षसम्म अभिनेता दयाहाङ राईलाई छायांकनमा भ्याइनभ्याइ थियो । आफ्नै फिल्म रिलिज हुँदा प्रचारमा समय दिन समेत भ्याउँदैन थिए । कहिले तराई त कहिले पहाडी क्षेत्रमा छायांकनका लागि पुगेका हुन्थे । तर, धेरै फिल्म गर्दा रिलिजको चाप बढ्यो । एउटै मितिमा आफ्नै फिल्म भिड्न थाले । जसले गर्दा उनका फिल्मप्रति दर्शकको वितृष्णा बढ्दा व्यापारमा समेत असर पर्यो ।
यसैले हुनसक्छ, यस वर्षदेखि दयाहाङले काम गर्ने शैली बदलेका छन् । विगत तीन महिनायता उनले कुनै फिल्म गरेका छैनन् । न त नयाँ फिल्म सम्झौता गरेका छन् । बुझिएअनुसार, अब उनी स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म नगर्ने अडानमा छन् । र, प्रदर्शन मिति घोषणा गरेर छायांकनमा निस्किने फिल्म समेत उनले नगर्ने जनाइएको छ । उनको यो अडानले निर्माताहरुलाई तनाव दिएको छ ।
गत बैशाखदेखि आफ्ना फिल्मको प्रचारमा मात्र देखिएका दयाहाङ बुधबार अमेरिका उडेका छन् । गत माघमा अमेरिकामा फिल्म ‘भूठान’को छायांकन सकाएर फर्किएका उनी नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन निर्देशक नवीन सुब्बाको साथमा अमेरिका प्रस्थान गरेका हुन् । यही जुन २० देखि २३ सम्म हुने यो फेस्टिभलमा उनको फिल्म ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुँदैछ ।
सन् २०१७ देखि आयोजना हुँदै आएको महोत्सवमा नेपाल, अमेरिका, जर्मनीसहित ११ देशका फिचर, वृत्तचित्र, लघु तथा एनिमेसन गरि ३५ फिल्म देखाइनेछ । समापनमा भने ‘द रेड सुटकेस’ प्रदर्शन हुँदैछ । महोत्सवमा छनोट भएका फिल्म मेरिल्यान्ड राज्यको एएफआई सिल्भर थिएटर तथा ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।