नेपालमा महिला केन्द्रित एक्सन फिल्म विरलै बन्छन् । एक समय यसको नेतृत्व अभिनेत्री रेखा थापाले गरेकी थिइन् । उनीपछि भने अभिनेत्रीलाई लिएर एक्सन फिल्म बनाउन मेकरहरुले खासै इच्छा देखाएनन् । न त अभिनेत्रीहरुको एक्सनप्रति रुचि देखियो । अब लामो समयपश्चात् महिला केन्द्रित एक्सन फिल्म आउँदैछ । त्यो हो, ‘दान्भी’ । यसमा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा छिन् ।
भोलि शुक्रबार (असार ७ गते)देखि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले दर्शकमा एकखालको उत्साह बढाएको छ । यसको फाइदा फिल्मको व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ । यसैबीच, देशभरका मल्टीप्लेक्सहरुमा बुधबारबाट फिल्मको बुकिङ खुलेको छ । र, फिल्मले राम्रो शोज पाएको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई ४७ शोज बाँडेको छ ।
त्यसैगरी, आईएनआई सिनेमाजले १२ शोज, वान सिनेमाजले ७ शोज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स र बिएसआर मुभिजले समान ४/४ शोज, एफएक्युब र सिडिसी सिनेमाजले समान ३/३ शोजसहित फिल्मले देशभर लगभग डेढ सय शोज पाएको जनाइएको छ । शोज संख्या हेर्दा फिल्मप्रति हल व्यवसायीहरुले ठूलै आशा राखेको देखिन्छ । यसको प्रमुख कारण पूजाको स्टार छवि पनि हो ।
फिल्मलाई अब सबैभन्दा ठूलो चुनौती भनेको प्राप्त शोजमा दर्शक भराउनु हो । त्यो हुँदा फिल्मले उत्साहप्रद ओपनिङ हासिल गर्न सक्नेछ । र, यसको जिम्मेवारी पूजाको काँधमा छ । किनकि, ‘दान्भी’मा ‘स्टार’ कलाकार उनी मात्र हुन् । अरु नयाँ छन् । आफ्नो स्टारडम प्रमाणित गर्ने उनलाई यो गजबको अवसर हो । आइतबारबाट भने फिल्मको भविष्य ‘वर्ड अफ माउथ’ले निर्धारण गर्नेछ ।
रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।