कुनै बेला देओल परिवारको बलिउडमा ठूलो बोलबाला थियो । अभिनेता धर्मेन्द्र ठूला ‘स्टार’ थिए । उनका दुई छोरा सनी देओल र बबी देओलको करिअर पनि उत्कर्षमा थियो । तर, बलिउडमा नयाँ ‘स्टार’ जन्मिएसँगै विशेषगरी सनी र बबीको करिअर खस्कियो । उनीहरुका एकसेएक फिल्म पिटिए । बबीले वर्षौंसम्म फिल्ममै पाएनन् । सनीले एकाध फिल्म गरिरहे पनि सफल हुन सकेनन् ।
तर, यतिबेला फेरि बलिउडमा देओल परिवारको दिन फर्केको छ । धर्मेन्द्रले अस्वस्थ हुँदा समेत लगातार फिल्ममा काम गरिरहेका छन् । अघिल्लो वर्ष ‘गदर २’ ब्लकबस्टर भएपछि सनीको करिअर जुरुक्कै उठेको छ । ‘रेस ३’पछि बबी पनि जबर्जस्त चम्किएका छन् । फिल्मदेखि वेब सिरिजसम्म उनलाई भ्याइनभ्याइ छ । यसरी हेर्दा देओल परिवारले बलिउडमा ‘पुर्नजन्म’ नै पाएको देखिन्छ ।
‘गदर २’को ‘रेकर्डब्रेक’ सफलतापछि सनीको माग आकासिएको छ । र, उनले लगातार फिल्म सम्झौता गरिरहेका छन् । यतिबेला फिल्म ‘लाहोर’को छायांकनमा व्यस्त रहेका उनले केही दिनअघि फिल्म ‘बोर्डर २’मा काम गर्न लागेको जनाएका थिए । अब उनले तेलुगू निर्देशक गोपीचन्द मालिनेनीको नयाँ फिल्ममा पनि काम गर्ने भएका छन् । उनको लाइनअपमा फिल्म ‘रामायण’मा पनि छ ।
बबी झन् सनीभन्दा व्यस्त छन् । कुनै समय ‘लभर ब्वाई’को छवि बनाएका उनी अहिले नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका छन् । अघिल्लो वर्ष आएको ‘एनिमल’ले उनको करिअर नै बदलदियो । यतिबेला उनलाई फिल्मको सेड्युल मिलाउन समेत समस्या भैरहेको भारतीय मिडियाले जनाएका छन् । बलिउडमा लडेर उठेका यी ‘देओल दाजुभाई’ अहिले धेरैका लागि प्रेरणा बनेका छन् ।