‘नाइँ नभन्नू ल’ श्रृंखलाले जीवन लुईँटेलदेखि पल शाहसम्मलाई ‘स्टार’ बनाइदियो । यसैको छैटौं श्रृंखलाबाट डेब्यु गरेका आशीर्वाद क्षेत्रीलाई पनि ठूलो आशा थियो । तर, उनकै डेब्युमा आएर ‘नाइँ नभन्नू ल’ श्रृंखलाले दम तोड्यो । यसले उनको करिअरमा समेत असर पार्यो । तथापि, लुक्स, डान्स र एक्सनको तारिफ हुँदा उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको थियो र छ ।
‘नाइँ नभन्नू ल ६’पछि उनलाई फिल्मबाट अफर नभएको पनि होइन । निर्देशक दीवाकर भट्टराईको फिल्म ‘मायावी’मा त काम गर्ने निश्चित नै भएको थियो । तर पछि अध्ययनले गर्दा फिल्म छाडिदिए । यसपछि केही कार्यशालामा अभिनय सिकेका उनी अब नयाँ फिल्ममा जोडिएका छन् । ‘राधा’ फेम्ड निर्देशक सुवर्ण थापाको फिल्म ‘टासिदेलेक’मा उनी प्रमुख भूमिकामा देखिन लागेका हुन् ।
यतिबेला काठमाडौंमा फिल्मको ट्रेलर खिच्ने काम भइरहेको छ । आगामी भदौबाट भने सगरमाथा क्षेत्रमा फिल्मको छायांकन गरिने निर्देशक थापाले बताए । फिल्ममा आशीर्वादसँगै हिमाल आरोही तथा डान्सर छिरिङ शेर्पाको पनि मुख्य भूमिका रहनेछ । फिल्मले सगरमाथा आरोहीको कथा भन्ने जनाइएको छ । बौद्ध धर्ममा ‘टासिदेलेक’को अर्थ अभिवादन, बधाई अथवा शुभकामना भन्ने हुन्छ ।
करिअरको दोस्रो फिल्म भएकाले यसले आशीर्वादका लागि ठूलो अर्थ राख्नेछ । यसबाट उनलाई फिल्मको व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै जरुरी देखिन्छ । ‘नाइँ नभन्नू ल ६’ मा उनी अभिनयमा चुकेका थिए । यसपटक उनलाई त्यो छुट रहने छैन । ‘टासिदेलेक’को निर्माता भने संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा हुन् । यसअघि उनले फिल्म ‘चौका दाउ’ बनाएका थिए ।