गत जेठ १० गते आएका ‘पूजार सार्की’ र ‘फर्की फर्की’पछि नेपाली फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । दुई हप्ताअघि आएको फिल्म ‘गाउँ आएको बाटो’को व्यापार औसत मात्र रह्यो । अब धेरैको आशा शुक्रबार (असार ७)बाट प्रदर्शनमा आएका दुई फिल्म ‘दान्भी’ र ‘आचार्य’माथि छ । यसमध्ये ‘दान्भी’ मात्र ‘फ्रेस’ फिल्म हो । ‘आचार्य’ भने १३ वर्षपछि पुनः प्रदर्शन भएको हो ।
महिला केन्द्रित एक्सन फिल्म कमै बनिरहेको समयमा ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत छिन् । पहिलोपटक उनले एक्सन भूमिका गरेकी हुन् । यसैले पनि उनका लागि यो फिल्म अर्थपूर्ण छ । ट्रेलरमा उनको एक्सनको प्रशंसा भएको थियो । देशभरका मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको फिल्मको ओपनिङ पूजाकै काँधमा छ । किनकि, उनको ‘स्टार’ छवि बनेको छ ।
रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।
‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक हो । उनलाई ‘ट्रिब्यूट’ दिनका लागि फिल्मलाई १३ वर्षपछि पुनः रिलिज गरिएको हो । प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ । यसमा सत्यराजले पिता भक्तराजको जीवन बाँचेका छन् ।