नेपाललाई बलिउड फिल्मको राम्रो बजार मानिन्छ । सिक्वेल र ठूला ‘स्टार’का फिल्मले आकर्षक व्यापार गरिरहेका हुन्छन् । यसैले त भारतीय फिल्म नेपाल भित्राउन वितरक कम्पनीहरुबीच ठूलै रस्साकस्सी हुने गर्छ । तर, त्यसमा केही सीमित कम्पनीहरुको मात्र दबदबा ज्यादा देखिन्छ । यद्यपि, कहिले काहीँ बलिउड र साउथका ठूला फिल्म अरु कम्पनीहरुले पनि उछिट्याउने गरेका छन् ।
आगामी साता (असार १३) रिलिज हुन लागेको भारतको मल्टीस्टारर फिल्म ‘कल्की’माथि पनि धेरै वितरक कम्पनीको नजर थियो । मोलमोलाई पनि ठूलै भयो । तर, एउटा कम्पनीले चक्मा दिएको छ । नेपाली फिल्म मात्र वितरण गर्दै आइरहेको कम्पनी आरआर फिल्मले ‘कल्की’को नेपाल वितरण अधिकार प्राप्त गरेको छ । यो कम्पनीले पहिलोपटक भारतीय फिल्म वितरण गर्न लागेको हो ।
आरआर फिल्मले अन्य कम्पनीको भन्दा ठूलो मुल्य प्रस्ताव गरेपछि ‘कल्की’ पाएको जनाइएको छ । यद्यपि, मुल्य खुलाइएको छैन । पछिल्लो समय एकपछि अर्को भारतीय फिल्महरुले नेपाली वितरकलाई डुबाइरहेको अवस्थामा आरआर फिल्मले ठूलो जोखिम मोलेको देखिन्छ । तर, स्टारकास्टका कारण ‘कल्की’को ठूलो हाइप भएकाले नेपालमा राम्रो व्यापार गर्नसक्ने सम्भावना प्रवल छ ।
आरआरका रोहित कट्टेलले अब नियमित भारतीय फिल्महरु वितरण गर्ने जनाए । उनले भने, ‘यो हाम्रो सुरुवात हो । अब नियमित रुपमा भारतीय फिल्म वितरण गर्ने योजना छ ।’ आरआर फिल्मसँग थुप्रै नेपाली फिल्म वितरण गरेको अनुभव छ । पाँच हप्तादेखि हलमा प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ पनि यही कम्पनीले वितरण गरेको हो । अब भारतीय फिल्म वितरणमा पनि होमिएको छ ।
नाग अश्विन रेड्डीको निर्देशन रहेको ‘कल्की’मा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण, कमल हसन, ब्रम्हानन्दम, दिशा पटानी जस्ता चर्चित कलाकारहरुको अभिनय छ । ‘स्टारकास्ट’कै कारण चर्चामा रहेको यो साइन्स फिक्सन फिल्म हो, जसलाई पौराणिक कथासँग जोडेर निर्माण गरिएको हो । हिन्दीसहित ६ भाषामा तयार भएको ‘कल्की’ ६०० करोडको बजेटमा बनेको जनाइएको छ ।