अभिनेता सलोन बस्नेत फिल्म ‘यूर्निभसिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । गत माघमा एक पोस्टरमार्फत फिल्मको घोषणा गरिएको थियो । उनीसँगै ‘ए मेरो हजुर २’ अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्मको निर्देशक भने निश्चित भएका थिएनन् । स्क्रिप्ट लेखनको बेला हेमराज विसीले निर्देशन गर्ने पक्कापक्की भए पनि उनी अमेरिका गएपछि सलोन अन्योलमा थिए ।
अब भने फिल्मका लागि निर्देशक लगभग निश्चित भएका छन् । गत फागुनमा प्रदर्शित फिल्म ‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले फिल्मको निर्देशन गर्ने सहमति जुटेको छ । तर, दुवै पक्षबीच लिखित सम्झौता भने भइसकेको छैन । उनीहरुबीच केही दिनभित्रमा कागजी सम्झौता हुनसक्नेछ । शुक्रबार सलोन र सलिनसहित निर्देशक शोभित बस्नेतले सौरभसँग निर्णायक छलफल गरेका थिए ।
‘अगस्त्य’मा सौरभले एक्सनमा राम्रो सम्भावना देखाएका थिए । ‘यूर्निभसिटी अफ गुन्डाज्’ पनि एक्सन कथामा निर्माण हुन लागेकाले फिल्मको निर्देशनका लागि सलोन र सलिन दुवैको रोजाईमा सौरभ परेका हुन् । सौरभले पनि फिल्म निर्देशन गर्ने मौखिक सहमति भएको जनाएका छन् । तर, यो फिल्मभन्दा अघि उनले अर्को फिल्म बनाउने सम्भावना छ । यतिबेला उनी त्यसैको तयारीमा छन् ।
‘यूर्निभसिटी अफ गुन्डाज्’बाट सलिन करिब ६ वर्षपछि अभिनयमा फर्किँदैछन् । पछिल्लोपटक उनी फिल्म ‘यात्रा’मा देखिएका थिए । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मले विश्वविद्यालयभित्र हुने गुण्डाराजको विषय उठाउने जानकारी प्राप्त छ । यसअघि सार्वजनिक पोस्टरमा सलिन र सलोन ‘एक्सन मुड’मा प्रस्तुत थिए । दुवैले अहिले फिल्मका लागि ज्यान बनाइरहेका छन् ।