नेपालका टेलिभिजन कार्यक्रमहरु अक्सर विवादित बन्ने गरेका छन् । कार्यक्रमलाई चर्चित बनाउने उद्देश्यले कलाकारहरुलाई अन्टसन्ट प्रश्न सोधिन्छ । र, कलाकारहरुले पनि सोचविचार नगरी अभिव्यक्ति दिँदा त्यसले ठूलो विवाद निम्त्याउने गरेको छ । यतिबेला ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्ति पनि विवादित बनिरहेको छ ।
कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले ‘बजर राउन्ड’मा उनीहरुलाई सोधेकी थिइन्, ‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङको नाम लिइन् । साम्राज्ञीले भने उनको तीन नायकसँग प्रेम रहेको दाबी गर्दै भनिन्, ‘प्रदीप खड्का, धीरज मगर र अनमोल केसी ।’
ओसिनले फेरि उनीहरुलाई सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ?’ यसमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताउँदा स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् । यतिबेला यही विषयले स्वस्तिमा र साम्राज्ञी विवादको भुँमरीमा फसेका छन् । कसैको निजी जीवनको बारेमा यसरी सार्वजनिक कार्यक्रममा भन्नु गलत रहेको भन्दै उनीहरुको आलोचना भइरहेको छ । अनमोल र जसिताले पनि यसबारेमा आपत्ति जनाएका छन् ।
जसितमाले इन्स्टाग्राममा स्टाटस लेख्दै ‘के एक महिला अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’ भनेर प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’
उनले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’
जसिताको स्टाटसमा कलाकारदेखि उनका प्रशंसकसम्मले स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिको आलोचना गरेका छन् । उनको स्टाटसमा अनमोलले समेत प्रतिक्रिया जनाउँदै पहिला वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल चरित्रमा ध्यान दिन महिलाहरुलाई अनुरोध गरेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा पनि लेखेका छन्, ‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरुको प्रयोग हो । भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म-मूल्यलाई लक्षित गर्छ ।’
जसिताले स्टाटस नै लेखेर चित्त दुखाएपछि स्वस्तिमा र साम्राज्ञी दुवैले उनीसँग माफी मागेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’
त्यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभइ कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् । ‘हामीलाई प्रश्नहरुको यो द्रुत राउन्डमा एक स्थितिमा राखिएको थियो र हामीले नतिजाको बारेमा सोचेका थिएनौं । तर, कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौं । तपाईंको भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसिताको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन् । तर, स्वस्तिमा र साम्राज्ञीको कमेन्टमा धेरैले उनीहरुलाई अश्लिल गालीगलौच गरेका छन् ।