विदेशी भूमिमा बस्ने नेपालीको मुद्धालाई उठाएर बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सकिएको छ । आइतबार र सोमबार भ्वाइस अफ नेपालको स्टुडियो तथा बालाजुस्थित एनएफडिसीमा ‘आँखै रसिलो’ बोलको गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक मित्र प्रधान (नर)ले जानकारी दिए । गत जेठमा भने फिल्मको छायांंकन अमेरिकामा गरिएको थियो ।
दुई दिन लगाएर खिचिएको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने अस्मिता अधिकारी र सविन सुवेदीको स्वर रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ र आयुषा समालसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की (थाइल्यान्ड), नारायण प्रधान र चर्चित डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन् । गीत ‘डान्सिङ’ शैलीको छ ।
फिल्ममा नेपालीसहित भारत, मलेसिया, पोल्यान्ड, बेल्जियम, ट्युनिसिया, अस्ट्रिया, जर्मनी लगायतका देशका कलाकारहरुको पनि अभिनय रहेको निर्देशक प्रधानले बताए । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको फिल्ममा रोशन र आयुषाका साथै विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजिता बर्देवालगायतको अभिनय छ ।
अमेरिकासहित नेपालको झापा र इलाम तथा भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँमा फिल्मको छायांकन गरिएको छ । निर्देशक प्रधान स्वयंको कथा तथा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन तथा देव महर्जन द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई यसै वर्ष (२०८१) प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।