मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.43/5.00)
Text size:-
+
-

जसिताले कमेन्ट हटाएपछि साम्राज्ञी भन्छिन्, ‘तिम्रो बकवास बन्द गर’

फिल्मीखबर, काठमाडौँ, 2024/06/26
कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ नामक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण यतिबेला अभिनेत्री द्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्को आलोचना भइरहेको छ । उक्त अन्तर्वार्तामा उनीहरूले सञ्चालिका ओसिन सिटौलाले सोधेको प्रश्नमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको व्यक्तिगत विषय उठाएपछि ठुलो विवाद जन्मिएको छ । सामाजिक सञ्जालमा स्वस्तिमा र साम्राज्ञीमाथि अश्लील गालीगलौज समेत भइरहेको छ । 
 
अन्तर्वार्तामा आफ्नो व्यक्तिगत विषय उठाएको भन्दै जसिताले मङ्गलवार इन्स्टाग्राममा स्ट्याटस लेखेर आपत्ति जनाएकी थिइन् । त्यसमा स्वस्तिमा र साम्राज्ञी दुवैले कमेन्ट गर्दै माफी मागेका थिए । तर, जसिताले साम्राज्ञीको कमेन्ट भने हटाएकी छन् । आफूले माफी मागेको कमेन्ट हटाएपछि साम्राज्ञीले मङ्गलवार साँझ इन्स्टाग्राम स्टोरीमार्फत जसितालाई ‘बकवास बन्द गर’ भन्दै चेतावनी दिएकी छन् ।
 
 
साम्राज्ञीले फिल्म ‘जेरी अन टप’बाट आना शर्मालाई हटाएको विषय ढाकछोप गर्न आफूहरूमाथि हमला भइरहेको आरोप समेत लगाएकी छन् । उनले लेखेकी छन्, ‘मैले तिम्रो पोस्ट लगत्तै माफी मागेको थिएँ । तर, त्यसलाई तिमीले हटाइदियौ । यो के भइरहेको छ ? वा के मानिसहरूको ध्यान यो तथ्यबाट भड्काउने कोसिस भइरहेको कि आना शर्मालाई एक फिल्मबाट हटाइयो, ताकि अरू कसैलाई काम नमिल्न सकोस् र हामीलाई हमला गरेर त्यो आगोलाई बुझाउने कोसिस भइरहेको छ ।’ 
 
आफू सधैँ महिलाको पक्षमा रहेको बताउँदै साम्राज्ञीले कार्ड हेरफेर गर्ने र मामलालाई गलत तरिकाले हल्लाउनेको पक्षमा भने आफू कहिल्यै नरहने जनाएकी छन् । उनले अन्तिममा लेखेकी छन्, ‘जसिता तिम्रो यो पक्ष देखेर म स्तब्ध छु र तिमी कति तल झुक्न सक्छौ तर आफ्नो बकवास बन्द गर ।’ 
 
 
अनमोलसँग नाम जोडेकोमा अश्मीले पनि जगाइन् आपत्ति
 
‘इट्स माई शो’मा स्वस्तिमाले अनमोलको प्रेमिका भन्दै अभिनेत्री आना शर्मा र पूर्व मिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् । यस विषयमा अश्मीले आपत्ति जनाएकी छन् । उनले इन्स्टाग्राममा एक बक्तव्य जारी गर्दै लेखेकी छन्, ‘भर्खरैको एउटा टक शोमा अप्रिय रूपमा प्रकट भएको घटनामा मेरो नाम अनियमित रूपमा अनावश्यक विवाद निम्त्याउने गरी फ्याँकिएको छ, जुन कुनै पनि सत्य होइन ।’
 
अन्तर्वार्ताको नाममा कसैको व्यक्तिगत जीवनको चर्चा गर्ने संस्कृतिलाई आफू स्पष्ट रूपमा अस्वीकार गर्ने समेत अश्मीले बताएकी छन् । होस्टले जवाफ दिन अतिथिलाई बाध्य नपारेको भए यो रोकिन सक्थ्यो भन्ने उनको बुझाई छ । उनी अगाडि लेख्छिन्, ‘मलाई एक होस्टको रूपमा आफैँलाई थाहा छ कि सम्पूर्ण कार्यक्रमको फ्रेमिङमा होस्टले कति ठुलो भूमिका खेल्छ र मलाई थाहा छ यदि उनीहरूले चाहेको भए यो सजिलै नियन्त्रण गर्न सक्थे । निराधार तथ्य प्रस्तुत गर्नु र पाहुनाहरूलाई निश्चित तरिकाले बोल्न दबाब दिन टिभी शोहरूमा दबाब सिर्जना गर्नु नैतिकता विपरीत हो, जुन देख्दा अत्यन्तै दुःखदायी छ ।’