अगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । एउटा मात्र पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री वर्षा सिवाकोटी केन्द्र भागमा छिन् । यसले फिल्मको कथा उनीमै केन्द्रित रहेको बुझाउँछ । हर्षित भावमा देखिएकी उनको पहिरन हेर्दा शिक्षिकाको भूमिका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
पोस्टरमा अभिनेत्री रेजिना उप्रेती भने दुई चुल्ठी बाटेर गाउँले युवतीको रुपमा प्रस्तुत छिन् । उनको जोडी बनेका अभिनेता दीलीप केसी घोडामा चढेर गाउँकै सम्भ्रान्त व्यक्तिको रुपमा चित्रण छन् । पोस्टरमा अभिनेताद्वय प्रवीण अतिवडा र अमर प्रताप श्रेष्ठलाई पनि स्थान दिइएको छ । ‘मोदीबेनी’बाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।
शङ्कर कोइरालाको निर्देशनमा तयार भएको फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको पनि अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ रहेका छन् ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर बनेको फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक कोइरालाले बताए । फिल्ममा उत्सव दाहालको डिओपी तथा भरत रेग्मीको सम्पादन छ । फिल्मले ४०/४५ वर्ष अगाडिको कथा भन्छ ।