‘इट्स माई शो’ नामक कार्यक्रमको पछिल्लो श्रृंखलाले ठूलो विवाद निम्त्याएको छ । उक्त कार्यक्रमको अतिथि बनेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले केही कलाकारको व्यक्तिगत विषय उठाएपछि यतिबेला तीव्र आलोचना भइरहेको छ । थुप्रै कलाकार तथा दर्शकहरुले अन्तर्वार्तालाई लिएर आपत्ति जनाइरहँदा चलचित्र कलाकार संघ पनि बोल्न बाध्य भएको छ ।
संघले बुधबार एक विज्ञप्ति जारी गर्दै टिभी कार्यक्रममा स्वस्तिमा र साम्राज्ञीले दिएको अभिव्यक्तिलाई अमर्यादित, अशोभनीय र गैर जिम्मेवारीपूर्ण भनेको छ । अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम (इट्स माई शो) मा सहभागी कलाकारहरुको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।’
आफ्नो स्वतन्त्रता र अधिकार प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको संघको ठहर छ । ‘एउटा सार्वजनिक कार्यक्रममा अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्याय संगत ठहर्दैन र हुँदैन पनि,’ संघको विज्ञप्तिमा उल्लेख छ । भविष्यमा पेशा, वर्ग र फिल्म क्षेत्रलाई असर गर्ने क्रियाकलाप र अभिव्यक्ति नगर्न संघले आग्रह गरेको छ ।
‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको व्यक्तिगत जीवनको विषय उठाउँदै अस्वाभाविक ढंगले अभिव्यक्ति दिएका थिए । यो विषयमा अनमोल र जसिताले आपत्ति जनाउँदै इन्स्टाग्राममा स्टाटस नै लेखेका छन् । स्वस्तिमा र साम्राज्ञीले जसिताको स्टाटसमा कमेन्ट गर्दै माफी मागिसकेका छन् । तर, विवाद भने साम्य हुन सकेको छैन ।