स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । फिल्मलाई ५ वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान भए पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि बोर्डले फिल्मको प्रदर्शन रोकेको हो ।
तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेको थियो । यसपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी फिल्म चलिरहेको भेटिएपछि प्रदर्शन स्थगित गरिएको जनाइएको छ । बिहीबारदेखि देशभरका हलबाट फिल्म हटिसकेको छ ।
‘आचार्य’का निर्माता रोशन राईले भने फिल्मलाई सेन्सर गर्न प्रयास गरेको भए पनि कानुनी प्रावधानले गर्दा सम्भव नभएको बताएका छन् । ५ वर्ष कटेको चार महिनाभित्र फिल्मलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्ष अगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको उनको भनाई छ । त्यसो त प्रदर्शनको एक हप्तामा फिल्मले राम्रो व्यापार पनि गर्न सकेको थिएन ।
गायक आचार्यप्रति श्रद्धाञ्जली स्वरुप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो । प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको अभिनय छ । यो फिल्म २०६८ साल (सन् २०११)मा पहिलोपटक रिलिज भएको थियो । फिल्ममा सत्यराजले पिता भक्तराजको भूमिका निभाएका छन् ।