मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’बाट हटाइएपछि आना भन्छिन्, ‘मेरो मन चिरिएको छ’

फिल्मीखबर, काठमाडौं, 2024/06/28

अघिल्लो सातासम्म फिल्म ‘जेरी अन टप’को मुख्य अभिनेत्रीमा आना शर्मा थिइन् । तर, गत शनिबार ‘फोटोसुट’मा उनी नआएपछि निर्माण टिमले उनलाई हटाएर अभिनेत्री जसिता गुरुङलाई अनुबन्ध गर्‍यो । फोटोसुटका लागि दिनभर पर्खिँदा पनि आना उपस्थित नभएको र फोन समेत नउठाएको निर्माता सरोज न्यौपानेले फिल्मीखबरसँग बताएका थिए । उनले व्यावसायिकता नदेखाएको सरोजको आरोप थियो ।

फिल्मबाट हटाइएको विषयमा एक हप्ता मौन देखिएकी आनाले शुक्रबार भने सामाजिक सञ्जाल (फेसबुक र इन्स्टाग्राम)मा स्टाटस लेख्दै आफू फोटोसुटमा उपस्थित हुन नसक्नुको कारण र निर्माताले लगाएको आरोपको खण्डन गरेकी छन् । विसन्चो भएकाले दोस्रो चरणको फोटोसुटमा उपस्थित हुन नसकेको र यसबारेमा पहिले नै टिमलाई जानकारी गराएको उनले बताएकी छन् ।

 

Anna Sharma

 

आफ्नो ठाउँमा अरुलाई अनुबन्धित गरेकोबारे टिमले आफूलाई कुनै जानकारी नगराइएको उनको गुनासो छ । र, निर्माताले आफूलाई लगाएको आरोपबारे उनले भनेकी छन्, ‘फिल्म टोलीले म लुकटेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखेँ । उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ । यसले मलाई ठूलो चोट दियो ।’

उनले आफूमा व्यावसायिक उत्तरदायित्व ननिभएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ भन्दै निर्माण टिमलाई प्रश्न गरेकी छन् । ‘सम्झौतामा हस्ताक्षर गरौं’ भन्दा पटक-पटक आलटाल गरिएको समेत उनको आरोप छ । आफ्नो ठाउँमा अरु कलाकारलाई लिएपछि निर्माण टिमले नाक जोगाउनका लागि आफ्नो बारेमा तथानाम बकिरहेको आनाले बताएकी छन् ।

‘लुकटेस्ट’ र फोटोसुट हुँदैमा फिल्ममा आफू नै हुनुपर्छ भन्ने नभए पनि आफ्नो मान मर्दन र प्रतिष्ठामा हिलो छ्याप्ने काम भएकोप्रति उनले आपत्ति जनाएकी छन् । उनी लेख्छिन्, ‘लुकटेस्ट र फोटोसुट हुँदैमा म नै फिल्ममा हुनुपर्छ भन्दिनँ । कलाकार फेरबदल संसारभरि चलिरहने प्रक्रिया हो । मलाई यसबारे राम्ररी थाहा छ । र, यो मेरो मुद्दा पनि होइन । तर, जसरी मेरो मान मर्दन गरियो, मेरो प्रतिष्ठामा हिलो छ्यापियो- त्यो सर्वथा गलत हो । फिल्म टोलीले महिनौंसम्म मेरो नाम लिएर फिल्मबारे प्रचार गरे । तर, मलाई हटाइँदा एक शब्द जानकारी दिइएन । यो कहाँको व्यावसायिक धर्म हो ?’

उनले यी घटनाक्रमहरु आफ्नो लागि अस्वाभाविक रहेको जनाएकी छन् । उनी अन्तिममा लेख्छिन्, ‘मेरो मन चिरिएको छ । बिरामी भएको जानकारी दिएर दोस्रो पटकको ‘लुकटेस्ट’मा उपस्थित हुन नसकेको त्यति सानो कारणमा टेकेर पूर्वसूचना बिनै हटाइँदा मन दुख्नु स्वभाविक हो । यदि उनीहरुको चरित्र नै यस्तै हो भने यस्तो टिमसँग काम गर्न नपाउनुमा म आफूलाई भाग्यमानी ठान्छु ।’ आनाले केही हप्तादेखि फिल्म ‘एक्टर’को छायांकन गरिरहेकी छन् ।

आनाको स्टाटसपछि निर्माता सरोज न्यौपानेको जवाफ

आनाको स्टाटसलगत्तै ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले पनि फेसबुकमा स्टाटस लेख्दै फिल्म र टिमको बारेमा लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन् । आनाको हकमा आफूले धेरै नै ‘कम्प्रमाइज’ गर्दै आएको बताउँदै उनले पटक-पटक फोन-म्यासेज गर्दा समेत जवाफ नपाएको अनुभव आफूसँग रहेको बताएका छन् ।

उनी लेख्छन्, ‘उहाँलाई फिल्म क्षेत्र भनेको रमाइलो गर्ने, पार्टी गर्ने, मन लाग्यो भने खोजेको ठाउँमा आउने, मन र मुड नहुँदा विरामी छु भनेर टार्दा पुग्ने, बिना सम्पर्क हराउने सोच्नु भएछ । एकपटक होइन, पटक-पटक यस्तो व्यवहार सहँदै हिजोको दिनसम्म धेरै नै ‘कम्प्रमाइज’ गर्दै आएको हुँ । पटक-पटक फोन म्यासेज गर्दा जवाफ नै पाउन नसकेको तीतो अनुभव मसँग छ ।’

फोटोसुटका लागि एक हप्ता अगाडिदेखिको तयारीअनुरुप फर्स्टलुक पोस्टरको छायांकनका लागि पूर्वनिर्धारित मितिमा स्टुडियो पुग्दा प्रमुख कलाकार (आना शर्मा) नै उपस्थित नभएपछि पटक-पटक फोन गर्दा समेत जवाफ नआएको निर्माता न्यौपानेको प्रष्टोक्ती छ । आनाको आमालाई फोन गर्दा समेत रेडिमेड जवाफ पाएको उनले उल्लेख गरेका छन् ।

उनी अगाडि लेख्छन्, ‘अन्ततः स्वघोषित विरामी उहाँको सोसियल मिडिया स्टोरीमा हाम्रो टिमलाई ‘हाइड’ गरिएको थाहा भयो । भोलि काम छ भनेपछि रातभर पार्टी गर्दै बस्न मिल्ने, काममा आउन नमिल्ने ? सबै कुराहरू बाहिर आउँछ, त्यो उहाँको विशुद्ध प्राइभेट लाइफ हो । धेरै हाम्रो भन्नु नि केही छैन । तर, उहाँको प्राइभेट लाइफले करोडौं लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्टमा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो ?’

एक मौका दिनुपर्छ भनेर आफूले आनाको आमालाई दिउँसो १ बजेसम्मको समयसीमा दिँदा पनि कुनै सुनुवाई नभएपछि आफ्नो एकल निर्णयले नायिका परिवर्तन गरेको निर्माता न्यौपानेले जनाएका छन् । एउटा निर्माताको पीडा बुझ्न नसक्ने नि कलाकार हुन्छ ? भन्दै उनले आनाप्रति कटाक्ष गरेका छन् । यो प्रकारको प्रवृत्तिबाट अन्य निर्मातालाई पनि सचेत रहन उनको आग्रह छ ।