नेपालीहरुको ठूलो बसोबास रहेको बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ मा अवार्ड आयोजना हुन लागेको जानकारी गराइयो । यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो ।
सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको जुरी संयोजकमा अभिनेता सुनिल थापा छन् भने सदस्यहरुमा अभिनेत्री गौरी मल्ल तथा निर्देशक उज्ज्वल घिमिरे छन् । नेपाली फिल्मको श्रीवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले लण्डनमा अवार्ड गर्न लागिएको जनाइएको छ ।
अवार्डका लागि बेलायत कमिटी अध्यक्षमा पिप्ला देवन थापा, उमेश मोक्तान (पूर्वअध्यक्ष), टंक भट्टराई (महासचिव), आशिष राज पन्त (सचिव) र पाल्देन लामा छन् । नेपाल कमिटीमा भने संगिक्षा फिल्म्सबाट अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव मनोज केसी, सचिव मोहन श्रेष्ठ, कोषाध्यक्ष प्रशाक कुँवर र मनिष कार्की संयोजकमा छन् । अवार्डमा नेपालबाट थुप्रै फिल्मकर्मीहरु सहभागी हुनेछन् ।