मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङलाई प्रश्न- ‘जारी २’ हो ‘घरज्वाइँ’ ?

फिल्मीखबर, काठमाडौं, 2024/06/29

सुपरस्टार दयाहाङ राईले अचेल आदिवासी जनजाती समुदायको कथामा बनेका फिल्महरु बढी गरिरहेका छन् । चाहे त्यो ‘कबड्डी’ होस् या ‘जारी’, ‘गाउँ आएको बाटो’ वा ‘दयारानी’ नै किन नहोस् । कहिले लिम्बू त कहिले थकाली चरित्रमा देखिरहेका हुन्छन् । यो समुदायको कथामा उनी करिब निर्विकल्प रोजाई बनेका छन् । एकपटक फेरि उनी फिल्म ‘घरज्वाइँ’मा मगर चरित्रमा देखिँदैछन् ।

तर, यसै साता सार्वजनिक ट्रेलरका केही दृश्य र संवादले गर्दा धेरैले फिल्मलाई ‘जारी’सँग दाँजेका छन् । बिहीबार ट्रेलर सार्वजनिक कार्यक्रममा पनि पत्रकारले दयाहाङलाई सोधेका थिए- ‘कताकता ‘जारी २’ देखिन्छ त ?’ तर, यसरी नहेर्न उनले आग्रह गरे । दुवै फिल्मको विषय फरक रहेको उनको दाबी छ । ‘घरज्वाइँ’लाई ‘जारी’को रुपमा हेरिनु हुँदैन । विषय ठ्याक्कै उल्टो छ,’ उनले भने ।

 

dayahang rai


फिल्मका निर्देशक अनिल बुढा मगरले पनि ‘घरज्वाइँ’लाई ‘जारी’को रुपमा नहेर्न अनुरोध गरे । ‘दुवै फिल्मको विषय नै फरक हो । ‘टेस्चर’ र ‘कलर’ फरक छ । ट्रेलरको अन्तिममा बज्ने ‘यानी माया’ म्यूजिकको रिदममा हामीले काम गरेका छौं । कलाकारहरुको हिडाइँदेखि बोलाइँसम्म त्यही रिदममा छ,’ उनले भने । सांस्कृतिक रुपमा भने ‘जारी’सँग केही कुरा मिल्न सक्ने उनको भनाई छ ।

फिल्मको ट्रेलरमा अशिष्ट शब्द पनि भरमार छ । विशेषगरी झैझगडाका दृश्यमा । फिल्मले मगर समुदायको कथा उठाएकाले त्यहाँ त्यस्ता शब्दहरु सामान्य मानिने दयाहाङको बुझाई छ । यद्यपि, स्क्रिप्ट पढ्ने बेलामा उनलाई पनि केही शब्द ‘भल्गर’ लागेको रहेछ । तर, अरुले सुन्दा त्यो नराम्रो लाग्ने भए पनि मगर समुदायमा भने त्यस्ता शब्दहरु एकदमै धेरै र सहजै बोलिने उनको अनुभव छ ।

दयाहाङ अगाडि भन्छन्, ‘यी शब्दहरु सुन्दा धेरैलाई ‘भल्गर’ नै लाग्छ । स्क्रिप्ट पढ्ने बेलामा मलाई पनि त्यस्तै लागेको थियो । यो त हाम्रोतिर बढी बोलिन्छ भन्ने भएको थियो । तर, मगर समुदायमा झन् बढी बोलिने रहेछ । हामीले सुन्दा चाहिँ त्यो गाली जस्तो लाग्छ तर मगर समुदायमा सजिलै त्यो उच्चारण गरिन्छ । यो समुदायमा बसेर हेर्दा यस्ता शब्दहरु आपत्तिजनक हुन् भन्ने मलाई लाग्दैन ।’

निर्देशक मगरले पनि मगर समुदायमा त्यस्ता शब्दहरुको प्रयोग निकै सामान्य मानिने भएकाले फिल्ममा पनि राखिएको स्पष्ट पारे । ‘मगर समुदायमा त्यस्ता शब्द सामान्य मानिन्छ । हामीले फिल्ममा समावेश गरेको शब्दभन्दा पनि बढी ‘भल्गर’ बोलिन्छ । फिल्ममा त्यहीँको कथा उठाएकाले पनि हामीले थोरै मात्र राखेका छौं,’ उनले भने । ‘घरज्वाइँ’ यही असार २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।