मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आनालाई ढाडस दिँदै शिल्पा भन्छिन्, ‘कलाकारलाई महत्त्व नदिने टिमको हिस्सा नबन्नु नै राम्रो’

फिल्मीखबर, काठमाडौं, 2024/06/30

aana sharma and shilpa maskey

 

फिल्म ‘जेरी अन टप’मा अभिनेत्री परिवर्तनको विषय यतिबेला ‘हट इस्यू’ बनेको छ । अभिनेत्री आना शर्मा ‘फोटोसुट’मा नआएपछि निर्माण टिमले उनलाई हटाएर जसिता गुरुङलाई भित्रायो । यसको एक सातापछि आनाले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै फोटोसुटमा आउन नसक्नुको कारण र व्यावसायिकता नदेखाएको भन्ने निर्माता सरोज न्यौपानेको आरोपको खण्डन गरेकी थिइन् ।

तर, उनले फेसबुकबाट स्टाटस हटाइसकेकी छन् । इन्स्टाग्राममा भने यथावत् छ । त्यहाँ उनलाई प्रशंसकदेखि केही अभिनेत्रीहरुले समेत ढाडस दिएका छन् । अभिनेत्री शिल्पा मास्केले आनाको स्टाटसमा कलाकारलाई महत्त्व नदिने टिमको हिस्सा नबन्नु नै राम्रो रहेको जनाएकी छन् । र, उनले आनालाई नेपाली फिल्मको एक वास्तविक र मेहेनती व्यक्ति रहेको भन्दै प्रशंसा पनि गरेकी छन् ।

शिल्पाले लेखेकी छन्, ‘मलाई यो सुन्दा निकै दुःख लाग्यो, मलाई थाहा छ तपाईं उद्योगमा एक वास्तविक र मेहेनती व्यक्ति हुनुहुन्छ । तपाईंलाई ‘जेरी’मा नदेखेर म आफैं निराश भएँ तर सोचेँ कि यो तपाईंको व्यस्तताको कारणले भएको हुनुपर्छ । तपाईंको समय र प्रयासको कदर नगर्नु नै अव्यावसायिक हो । यस्तो टिमको हिस्सा नबन्नु नै राम्रो हो, जसले आफ्नो कलाकारलाई महत्त्व नै दिँदैन ।’

 

aana sharma


यस्तै, अर्की अभिनेत्री उषा रजकले आफूले पनि यस्तो अवस्था धेरै भोगेको अनुभव सुनाएकी छन् । आनाको स्टाटसमा कमेन्ट गर्दै उनले लेखेकी छन्, ‘कसैलाई पनि बिना वैध कारण वा जानकारीबिना हटाउनु हुँदैन । मलाई खुसी छ कि तपाईंले आफ्नो सत्यता बाहिर ल्याउनुभयो । नेपालमा २० वर्षको मनोरञ्जन करिअरमा मसँग पनि यस्तो धेरैपटक भयो । ‘कागबेनी’मा यस्तै भएको थियो ।’

आनाले शुक्रबार स्टाटस लेख्दै विरामी भएकाले फोटोसुटमा जान नसकेको र यसको जानकारी पहिला नै निर्माण टिमलाई गराएको उल्लेख गरेकी थिइन् । र, निर्माताले व्यावसायिकता नदेखाएको आरोपमा उनले भनेकी छन्, ‘म २ वर्षदेखि यो फिल्ममा जोडिएकी थिएँ । मेरो ठाउँमा अरु कलाकार (जसिता)लाई लिएपछि आफ्नो नाक जोगाउन उनीहरुले मेरो बारेमा तथानाम बकिरहेका छन् ।’