मिति : २०८१ आषाढ २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङको फिल्म छान्ने शैली: ‘म आम मानिस भएर स्क्रिप्ट पढ्छु’

फिल्मीखबर, काठमाडौं, 2024/07/01

Dayahang Rai

 

दयाहाङ राई अहिलेको समयका ‘नम्बर वान’ अभिनेता हुन् भन्दा सम्भवतः अतिशयोक्ति नहोला । किनकि, केही वर्षयता सबैभन्दा बढी उनकै फिल्म चलेका छन् । यद्यपि, असफलताको दर पनि कम छैन । यतिबेला फिल्म क्षेत्रलाई नै आफ्नो काँधमा बोकिरहेका उनलाई फिल्मको प्रस्ताव सबैभन्दा बढी पुग्ने गर्छ । यसैले त अचेल वर्षमा महिनाभन्दा ज्यादा उनको ‘लाइनअप’मा फिल्म हुन्छन् ।

धेरै फिल्मबाट अफर हुँदा छनोट गर्न ठूलो चुनौती हुन्छ । दयाहाङको भने फिल्म छान्ने आफ्नै शैली र तरिका छ । गत साता फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म छनोटको प्रक्रियाबारे उनले भनेका छन्, ‘मलाई आएको स्क्रिप्ट पढ्छु । त्यतिबेला म कलाकार हुन्न । कलाकार भएर स्क्रिप्ट पढ्दिनँ । म आम मानिस जसरी पढ्छु र त्यसमा ‘कनेक्ट’ भएँ भने फिल्ममा काम गर्छु ।’

पछिल्लो समय दयाहाङले आदिवासी जनजातिको कथामा बनेका फिल्महरु धेरै गरिरहेका छन् । यसको मुख्य कारण उनी आफ्नो जातीय पृष्ठभूमिलाई मान्छन् । उनी भन्छन्, ‘मेरो अनुहार नै त्यही छ । गुरुङ, राई, लिम्बू, मगर चरित्र मलाई सुहाउँछ । स्क्रिप्ट पनि त्यसरी नै आउँछ ।’ ‘कबड्डी’ र ‘जारी’को सफलतापछि विभिन्न समुदायको कथा भन्न मेकरहरुलाई आँट आएको उनको बुझाई छ ।

आदिवासी जनजातिको कथामा बनेका फिल्म धेरै गरेर दयाहाङ ‘मोनोटोनस’ भने भएका छैनन् । यस्तो कथाहरु अझै आइरहनुपर्छ भन्ने उनलाई लाग्छ । ‘म मोनोटोनस भएको छैन । गुरुङ, मगर, लिम्बू समुदायको कथाहरु अलिअलि आइरहेका छन् । तर, हाम्रो यतिधेरै समुदाय छन् कि त्यसमा काम गरेर मैले यो जुनीमा पनि भ्याउँदिनँ । विभिन्न समुदायको कथा अझै आउनुपर्छ,’ उनले भने ।