मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’ खेल्न नेपाल आएका ‘पुष्पा’ भिलेन भन्छन्, ‘क्यारेक्टर राम्रो छ’

फिल्मीखबर, काठमाडौं, 2024/07/02

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी दम्पतीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसँगै भारतीय कलाकारको पल्टन नै छ । फिल्ममा नेपालबाट नीता र हरिहरसहित विपना थापा, सञ्चिता लुईंटेल, प्रशान्त ताम्राकार, किरण केसी लगायतको अभिनय छ भने भारतबाट ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा, ब्रहानन्दम जस्ता कलाकारहरु छन् ।

 

neeta dhungana


फिल्मको छायांकन नै तीन चरणमा गरिएको छ । २०७९ मा भारतको हैदराबादस्थित ‘रामोजी फिल्म सिटी’ र गत वर्ष चितवनपछि सोमबारबाट काठमाडौंमा फिल्मको तेस्रो चरणको छायांकन सुरु गरिएको छ । जसका लागि भारतबाट प्रदीप रावत र सुनील वर्मा काठमाडौं आइसकेका छन् । छायांकनअघि फिल्मको टिमले सोमबार साँझ सानेपास्थित एक क्लबमा पत्रकारसँग भेटघाट गर्‍यो ।

पहिलोपटक नेपाल आएका ‘पुष्पा’का भिलेन वर्माले फिल्ममा आफ्नो क्यारेक्टर राम्रो रहेको बताए । उनले भने- ‘फिल्मबाट मलाई राम्रो क्यारेक्टर अफर आयो । त्यसैले नेपाल आएँ । मलाई नेपाल आउँछु भन्ने विश्वासै थिएन । नीताजी र हरिहरजीको आतिथ्यताले यहाँ आएँ । यसपटकको हामी तपाईंहरुसँग दशैं सेलिब्रेट गर्न आउँदैछौं । र, तपाईंहरु पनि दशैं सेलिब्रेट गर्न हलमा आउनुहोला ।’

 

sunil barma


‘ह्रस्व दीर्घ’ले नेपाली फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने वर्माको विश्वास छ । पत्रकारको आग्रहपछि उनले तेलुगू भाषामा ‘पुष्पा’को संवाद समेत बोलेर सुनाए । विशेषगरी साउथमा हाँस्य कलाकारको रुपमा चिनिएका सुनीललाई ‘पुष्पा’ले भने भिलेनको रुपमा स्थापित गरेको छ । अब ‘पुष्पा २’मा पनि देखिन लागेका उनले डेढ सयभन्दा बढी साउथ फिल्ममा काम गरिसकेका छन् ।

‘गजनी’ भिलेन प्रदीप भने अघिल्लो वर्ष पनि ‘ह्रस्व दीर्घ’को छायांकनका लागि नेपाल आएका थिए । यसमा उनले नीताको पिताको भूमिका निर्वाह गरेका छन् । यसअघि नीतासँग उनले भोजपुरी फिल्म ‘माही’मा पनि काम गरेका थिए । यसैले उनीहरुबीच हार्दिक सम्बन्ध छ । नीताले बाल कलाकार भएर खेलेका फिल्महरु आफूले पनि बच्चा हुँदा हेरेको भन्दै रावतले कार्यक्रममा ठट्यौली गरे ।

 

pradeep rawat


उनले फिल्मका निर्देशक चन्द्र पन्तलाई नेपालको ‘कोहिनूर’ भन्दै प्रशंसा पनि गरे । ‘चन्द्रसँग मैले तेस्रोपटक काम गरेको हुँ । चन्द्र नेपालको ‘कोहिनूर’ हुन् । मलाई उसको बारेमा जे-जति थाहा छ, त्यसले चकित बनाउँछ,’ उनले भने । यसअघि चन्द्रको निर्देशनमा प्रदीपले दुईवटा भोजपुरी फिल्ममा काम गरिसकेका छन् । उनले सुनील वर्मासँग फेरि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

नीता भने ‘ह्रस्व दीर्घ’बाट आफूलाई ठूलो अपेक्षा रहेको बताउँछिन् । ‘फिल्मको काम सुरु गरेको दुई वर्ष भैसकेछ । पहिला बन्छ र ? भनेर आफैंलाई सोध्थेँ । सबैको साथ-सहयोगले फिल्म बनेर अब प्रदर्शनका लागि तयार भैसकेको छ । यसबाट मैले ठूलो अपेक्षा राखेको छु,’ उनले भनिन् । फिल्ममा जोडिएका नेपाली र भारतीय कलाकारका कारण आफूलाई गर्व महसुस हुने नीताले बताइन् ।

 

Hrashwo-Deergha


आगामी असोज ३ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ । फिल्मलाई बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ लगायत दर्जनौं बलिउड फिल्म खिचेका छन् । नेपाली, तेलुगू र हिन्दी गरी तीन भाषामा ‘ह्रस्व दीर्घ’ रिलिज हुनेछ ।