मिति : २०८१ आषाढ २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतालाई प्रश्न- ‘नेपाली कलाकार नपाएर भारतीय लिएको हो ?’

फिल्मीखबर, काठमाडौं, 2024/07/03

अभिनेत्री नीता ढुंगानाले श्रीमान् तथा अभिनेता हरिहर अधिकारीसँग मिलेर निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपालीसँगै भारतीय फिल्मका नामुद कलाकारहरुको अभिनय छ । ब्रह्मानन्दम, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा, अली, कबीर दुहन सिंह जस्ता साउथका लोकप्रिय कलाकारहरु फिल्ममा देखिँदैछन् । जसले गर्दा भारतीय बजारमा समेत फिल्मको चर्चा छ ।

तर, यतिबेला नीतामाथि एउटा प्रश्न उठेको छ, ‘के नेपाली कलाकार नपाएर भारतीय लिएको हो ?’ सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले यस विषयमा स्पष्ट पार्ने प्रयास गरिन् । केही नेपाली कलाकारहरुलाई फिल्म अफर गरेको भए पनि काम गर्न इच्छा नदेखाउँदा भारतीय लिनुपरेको उनको भनाई छ । आफ्नो प्राथमिकतामा सधैं नेपाली कलाकार नै पर्ने नीता बताउँछिन् ।

 

neeta dhungana


‘मैले नेपाली कलाकार नपाएर भारतीय लिएको होइन । जुन-जुन क्यारेक्टरमा साउथका कलाकारहरु देखिनुभएको छ, त्यो पहिला नेपाली कलाकारहरुलाई नै अफर गरेका थियौं । तर, सबैको आ-आफ्नो व्यस्तता वा के कुरामा चित्त बुझेन होला, त्यसैले गर्नुभएन । त्यसपछि भारतीय कलाकार लियौं,’ नीता भन्छिन्, ‘मेरो प्राथमिकतामा नेपाली कलाकार नै पर्नुहुन्छ । र, यसमा दर्जनौं हुनुहुन्छ ।’

अन्य मुलुकका कलाकारले विभिन्न भाषाका फिल्ममा काम गर्नुलाई उनी सकारात्मक मान्छिन् । उनलाई कलाको देश र जात हुँदैन भन्ने लाग्छ । उनी भन्छिन्, ‘कलाको देश र जात हुँदैन । हामीले जहाँ गएर पनि र जुन भाषामा पनि काम गर्न सक्छौं । बलिउडका कलाकारले हलिउड र तेलुगू कलाकारले हिन्दी फिल्म गरिरहेका छन् । अनि हामी किन सानो सोच्ने ? हामी पनि माथि उठ्नुपर्छ ।’

फिल्ममा भारतबाट बुलन्द कलाकारहरु लिएकाले व्यापारमा सहयोग मिल्ने नीताको विश्वास छ । तर, उनी के कुरामा प्रष्ट छिन् भने फिल्म कलाकारले मात्र चल्दैन । ‘कलाकारले मात्र फिल्म चल्ने होइन । दुई/चार दिन चल्ला तर त्यसपछि फिल्म आफैं बोल्नुपर्छ । यसैले फिल्म मजबूत हुनुपर्छ भन्नेमा हामी गम्भीर छौं,’ नीताले भनिन् । ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।