फिल्म ‘होस्टेल रिर्टन्स’ (२०१५)बाट सम्भावना बोकेको अभिनेताको रुपमा सुशील श्रेष्ठको उदय भएको थियो । लुक्सका कारण यही फिल्मबाट उनको राम्रो क्रेज बन्यो । तर, यसपछि फिल्मको श्रृंखलाबद्ध असफलताले उनको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकेन । यतिबेला उनलाई एउटा ‘हिट’ फिल्मको खाँचो छ । र, अब उनलाई आशा भनेकै फिल्म ‘आउट ल : दफा २१९’ प्रति छ ।
यो सुशीलको पाँच वर्षपछिको कमब्याक फिल्म हो । उनी पछिल्लोपटक २०७६ सालमा आएको ‘बादशाह जुट’मा देखिएका थिए । उनको करिअरकै लागि महत्त्वपूर्ण मानिएको ‘आउट ल’ संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । अघिल्लो महिना सार्वजनिक गरिएको एक पोस्टर हेर्दा फिल्ममा उनी एक्सन अवतारमा देखिन लागेको प्रष्ट बुझिन्छ ।
यसैबीच, निर्माण समूहले सुशीलको भूमिकाबारे संकेत गर्ने केही तस्वीर सार्वजनिक गरेको छ । जसमा उनी आर्मीको हेलिकप्टरमा देखिएका छन् । र, उनको साथमा आर्मीका जवानहरु पनि छन् । यसको मतलब फिल्ममा सुशील आर्मीको भूमिकामा हुनसक्छन् । प्राप्त जानकारी अनुसार, त्रिभुवन विमानस्थलमा रहेको आर्मीको हेलिकप्टर पार्किङ एरियामा फिल्मको छायांकन गरिएको हो ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको ‘आउट ल’मा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, सोनी लागुन, हेम गुरुङ लगायतको पनि अभिनय छ । अमित अग्रहरीको निर्माण रहेको फिल्मको कार्यकारी निर्माताहरुमा विनोद कडायत र सशांक खड्का छन् भने विकास चौधरी सह–निर्माता हुन् । नविन गुरुङको डीओपी रहेको फिल्ममा साहिल खानको सम्पादन छ ।