कुनै बेला म्यूजिक भिडियोलाई मनोरञ्जनको रुपमा मात्र लिइन्थ्यो । र, त्यही हिसाबमा बन्थे । तर, अचेल फिल्मभन्दा पनि सशक्त दृश्यभाषा र प्रस्तुति म्यूजिक भिडियोमा हुन्छ । बुधबार सार्वजनिक गरिएको लोक देउडा तथा ठाडी भाकाको ‘हिरूलाल’ बोलको गीत यसको उदाहरण हो । गीतले उठाएको विषयदेखि कलाकारको अभिनयसम्म बुलन्द छ । यसमा कर्णालीको जीवन भेटिन्छ ।
गीतमा गरिबीको चपेटाले परदेशिन बाध्य युवाको कथा छ । श्रीमानलाई पर्खिरहेकी श्रीमतीको पीडा र रोदन छ । परिवारका लागि छोराले गरेको संघर्ष छ । कर्णालीमा सञ्चार सुविधा नहुँदाको समस्या पनि देखाइएको छ । गीत जति कर्णप्रिय छ, भिडियो त्यतिक्कै मर्मस्पर्शी र अर्थपूर्ण छ । विशेषगरी अभिनेत्री रेनु योगीको अभिनय प्रशंसनीय छ । उनी दुरुस्तै कर्णालीकी महिला देखिएकी छन् ।
रेनुले आफ्नो करिअरको पहिलो फिल्म ‘प्रकाश’मा पनि कर्णाली भेगकै युवतीको भूमिकामा अभिनय गरेकी थिइन् । यसैले उनलाई फेरि त्यस्तै कथामा दोहोर्याएर काम गर्न इच्छा थिएन । ‘हिरूलाल’ गीतबाट प्रस्ताव आउँदा उनले सुरुमा काम अस्वीकार नै गरेकी रहेछिन् । पछि फेरि निर्देशक रतन देवकोटाले अफर गरेपछि गीतको पहिलो पङ्क्ति सुनेर उनी काम गर्न मञ्जुर भएकी थिइन् ।
‘हिरूलाल’मा काम गरेपछि रेनुले अब जुम्लाको कथामा काम गर्न नछाड्ने प्रण गरेकी छन् । बुधबार गीत सार्वजनिक कार्यक्रममा उनले पत्रकारसँग भनिन्, ‘जुम्लाको कतिधेरै कथाहरु छन्, जुन भनिएको छैन । म के प्रण गर्न चाहन्छु भने भविष्यमा मेरो भागमा जति पनि जुम्लाको कथाहरु पर्नेछ, म त्यो सबै गर्नेछु । कलाकारको रुपमा राम्रो काम दिन सकुँ भन्ने मेरो प्रयास सधैं भइरहनेछ ।’
गीतमा गायक एवम् मोडल चक्र बमसँग रेनुको जोडी बाँधिएको छ । गीतमा चक्र स्वयंको स्वर छ भने उनलाई डिक्रा देवी र रचना रिमालले गायनमा साथ दिएका छन् । गीतका कल्पनाकार, निर्माता र गीतकार निर्देशक देवकोटा स्वयं हुन् । यसमा कथा लेखन गोविन्द सुनार र संगीत उत्पादन कोबिड बज्रको छ भने छायाँकार सौरभ लामिछाने हुन् । भिडियोमा छायांकन पनि प्रशंसनीय छ ।