मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को थिम गीतमा देखिए दीपाश्रीदेखि प्रदीपसम्म

फिल्मीखबर, काठमाडौं, 2024/07/05

Swastima Khadka, Nischal Basnet, Deepashree Niraula, Pradip Khadka, Dhiraj Magar

 

पछिल्लो समय फिल्मप्रति दर्शकलाई आकर्षित गर्न मेकरहरुले अनेक जुक्ति अपनाउने गरेका छन् । कसैले फिल्मको थिमअनुसार विभिन्न प्रतियोगिता गरिरहेका छन् भने कसैले प्रचारका लागि फरक शैलीमा ‘कन्टेन्ट’ तयार पारिरहेका छन् । यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले भने प्रचारका खातिर र्‍‍याप गीत बनाएका छन्, जुन शुक्रबार रिलिज गरिएको छ ।

फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको गायन प्रस्तुति र शब्द रचना छ भने रोहित शाक्यको संगीत उत्पादन छ । भिडियोमा भने फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलगायत देखिएका छन् ।

उमेर पुगेका युवा-युवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने विषय गीतले बोलेको छ । रोचक कुरा के छ भने गीतमा देखिएका अधिकांश कलाकार अविवाहित छन्, जसलाई अक्सर विवाहकै प्रश्न आउने गर्छ । यसैले गीत जचेको छ । र, गीतको अडियो बलियो छ । भिडियो पनि रोचक बनेकाले यसले फिल्मको हाइप निर्माण गर्न ठूलो मद्दत गर्न सक्ने छनक देखिन्छ ।

गीतसँगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यसअघि दशैं मात्र भनिएको फिल्मलाई आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर आदिको पनि अभिनय छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइवा र कुशल पोखरेलको संगीत रहेको फिल्मले विवाहको कथा उठाएको छ । फिल्मको कथा स्वस्तिमामा केन्द्रित छ ।