यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक ‘यानीमाया’ गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर चित्रित यो गीतमा घरज्वाइँ बस्ने पात्रको मनोभाव र उसले गरेको संघर्षलाई दर्शाइएको छ ।
निर्देशक अनिल बुढा मगरले यही गीतको रिदममा रहेर फिल्ममा काम गरेको बताएका छन् । उनी भन्छन्, ‘हामीले पूरै फिल्म यही गीतको रिदम (संगीत प्रवाह)मा रहेर काम गरेका छौं । दृश्यभाषा नै यसैको रिदममा छ । र, क्यारेक्टरहरु पनि गीतको रिदमजस्तै बोल्दा ओठ खिलखिलाएर बोल्छन् । हिँड्दा विस्तारै हिँड्छन् ।’ यो फिल्म मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथामा आधारित छ ।
फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले खनाल, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ । एक हप्ताअघि सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मप्रति दर्शकको चासो र उत्साह बढेको देखिन्छ ।
जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।