मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्रीहरुको कमब्याक लहरः रहर कि कथाको माग ?

फिल्मीखबर, काठमाडौं, 2024/07/08

कुनै बेला नेपाली फिल्ममा बलियो उपस्थिति जनाएका कयैन् कलाकार पाखापाखा लागिसकेका छन् । कोही विदेश पलायन भए त कोही घरव्यवहारले अभिनयमा सक्रिय हुन सकेनन् । यसैले अहिले नेपाली फिल्ममा लगभग नयाँ पुस्ताकै हालिमुहाली देखिएको छ । यद्यपि, पुराना कलाकारलाई फिल्ममा हेर्ने इच्छा दर्शकले व्यक्त गरिरहेका हुन्छन् । तर, त्यो इच्छा खासै पूरा हुन सकेको थिएन ।

यतिबेला भने पुराना कलाकारहरुको कमब्याक जोरसोरले चलिरहेको छ । त्यसमा विशेषगरी अभिनेत्रीहरु बढी छन् । कोही विवाह भएपछि सन्तान हुर्काउन अभिनयमा टाढिएका थिए भने कोही विदेश बसाइँले गर्दा विश्राम लिन बाध्य भएका थिए । यतिखेर पुराना नाम चलेका केही अभिनेत्रीहरु धमाधम अभिनयमा फर्किरहेका छन् । त्यसमा पूजा चन्द (लामा)देखि अरुणिमा लम्सालसम्म छन् ।

पूजा २० वर्षपछि फिल्म ‘भूठान’बाट अभिनयमा फर्किएकी हुन् । अघिल्लो वर्ष अमेरिकामा छायांकन हुँदा उनले यो फिल्ममा काम गरेकी थिइन् । यसपछि फिल्म ‘तेल भिसा’मा पनि काम गरिसकेकी छन् । यसैको अन्तिम चरणको छायांकनका लागि अहिले पूजा नेपालमा छिन् । कुनै समय नेपाली फिल्ममा बलियो पकड बनाएकी उनलाई दुई दशकपश्चात् फेरि पर्दामा हेर्न दर्शक अधैर्य छन् ।

 

five actress


विवाहपछि अभिनयबाट टाढिएकी कुनै समयकी सफल अभिनेत्री विपना थापाले पनि १३ वर्षपछि फिल्म ‘ह्रस्व दीर्घ’बाट पुनरागमन गरेकी छन् । गत वर्ष चितवनमा छायांकन हुँदा मेकअप गर्ने क्रममा उनी गहभरी भएकी थिइन् । परिवारसहित भारतको मथुरामा बस्दै आएकी उनी नेपाल आउजाउ भने बाक्लै गरिरहेकी हुन्छिन् । अब उनी फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा छिन् । 

विवाहपछि ९ वर्ष अभिनयबाट टाढिएकी अर्की अभिनेत्री रेजिना उप्रेती पनि फिल्ममा फर्किएकी छन् । आगामी साउन १८ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘मोदीबेनी’बाट उनले कमब्याक गरेकी हुन् । दुई कार्यकाल चलचित्र कलाकार संघको उपाध्यक्ष रहेकी उनी अध्यक्षमा पराजीत भएपछि फिल्ममा फर्केकी हुन् । अब अभिनयमा निरन्तरता दिन उनलाई ‘मोदीबेनी’ सफल हुन जरुरी छ ।

त्यस्तै, अमेरिकामा बस्दै आइरहेका दुई अभिनेत्री अरुणिमा लम्साल र ऋचा घिमिरे पनि एक दशकपछि अभिनयमा फर्किएका छन् । ऋचाले श्रीमान् (निर्देशक शंकर घिमिरे)को फिल्म ‘तेल भिसा’बाट कमब्याक गरेकी हुन् भने अरुणिमाले यतिबेला अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’मा अभिनय गरिरहेका छन् । यसरी हेर्दा अहिले पुराना अभिनेत्रीहरुको कमब्याकको लहर देखिन्छ ।

तर, यो लहर रहरको हो या कथाको माग ? यो सबैभन्दा महत्त्वपूर्ण छ । पुराना कलाकारप्रति अपेक्षा ठूलो हुन्छ । त्यसैले कमब्याक रहर मात्र हो भने त्यसको औचित्य नहुन सक्छ । कथाकै माग हो भने कमब्याक सार्थक बन्नेछ । र, अब पनि परम्परागत शैलीको चरित्रचित्रणले दर्शक रिझाउन सम्भव छैन । त्यसैले चरित्र र अभिनयमा फरकपन देखिन जरुरी छ । यो सबैभन्दा ठूलो चुनौती हो ।