आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ‘मञ्जुरी’ बोलको रोमान्टिक गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति आकर्षण, प्रेम र आशक्ति बोल्छ । दुवैको ‘केमेस्ट्री’ सुहाएको छ ।
एसडी योगी र विज्ञानी पराजुलीको गायन रहेको गीतमा एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको रचना छ । किरण थापाको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन तथा भरत रेग्मीको सम्पादन छ । गीतको अडियो कर्णप्रिय छ भने भिडियो आकर्षक बनेको छ । गीतले फिल्मको राम्रो हाइप निर्माण गर्न सक्ने देखिन्छ । निर्माण टिमलाई पनि यो गीतबाट ठूलो अपेक्षा छ ।
शंकर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षा र अमरसँगै सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ । रेजिनाले यो फिल्मबाट झण्डै १० वर्षपछि कमब्याक गरेकी हुन् । फिल्ममा उनले वर्षाकी आमाको भूमिका निर्वाह गरेको चर्चा छ ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनेको हो । तर, फिल्मको कथा त्यहाँको मात्र नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक कोइरालाको दाबी छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका निर्माता दीलिप केसी तथा सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मलाई काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।