मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘घरज्वाइँ’ प्रिमियर: ‘मगर संस्कृति बुझाउने फिल्म’

फिल्मीखबर, काठमाडौं, 2024/07/10

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’ यही शुक्रबार अर्थात् असार २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मको मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ तीनवटा समुहले फिल्मको कथाअनुसार मगर पहिचान झल्किने भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

 

Dayahang-Miruna-Gharjwai


प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्मको उपस्थिति देखिएको थियो । र, अधिकांशले मगर समुदायको संस्कृति र परम्परालाई फिल्मले जीवन्त बनाएको भन्दै प्रशंसा गरे । मगर समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले फिल्मले मगर सभ्यता र संस्कृतिलाई यथार्थ रुपमा देखाएकोमा खुसी व्यक्त गरिन् । फिल्म उत्कृष्ट बनेको पनि उनको दाबी थियो ।

उपसभामुख मगरलाई फिल्मले प्रेम पनि सिकाउँछ भन्ने लाग्छ । उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनिन्, ‘प्रेम भनेको घाँस काट्दै, धान रोप्दै, हलो जित्दै हुने कुरा हो । अहिलेको जस्तो फेसबुकमा आई लभ यू भनेर मात्र प्रेम हुँदैन । सँगै बसेर र सँगै काम गरेर प्रेम हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ । त्यो पक्ष मलाई मनपर्‍यो ।’ उनलाई यो फिल्मबाट धेरै कुरा सिक्न पाइन्छ भन्ने लाग्छ ।

अभिनेत्री उपासना सिंह ठकुरीले भने फिल्मको कथा फरक लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘महिलाको इमोसनलाई ध्यान दिएर प्राथमिकता दिने संस्कार एकदमै राम्रो लाग्यो । कथाले पनि मन छोयो ।’ त्यस्तै, अभिनेता कुन्साङ बम्जनलाई कथा, मेकिङ, अभिनय, ब्याकग्राउन्ड स्कोर सबै पक्ष निकै सशक्त लागेछ । मगर संस्कृति र परम्परा पनि बुझ्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

 

Upasana-kunsang


‘घरज्वाइँ’मा दयाहाङकी आमाको भूमिकामा देखिएकी कविता आलेले भने फिल्ममा आम मानिसले भोगिरहेको कथा देखाइएको बताइन् । उनी भन्छिन्, ‘फिल्मको चरित्रमा आफूले कति न्याय गर्न सकियो त्यो फरक कुरा हो । तर, हरेक आमा र जनजीवनले भोगिरहेकै कथा छ यसमा । कथामा डुबेर हेर्दा छोराको पीडामा मेरो आँखा रसायो ।’ फिल्म लयबद्ध रहेको उनको भनाई थियो ।

प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट हर्षित देखिएका दयाहाङलाई हरेक समुदायको संस्कृति बुझ्न मनपर्ने रहेछ । तर, मगर संस्कृतिबारे उनी अनविज्ञझैँ रहेछन् । ‘म हरेक संस्कृतिलाई बुझ्ने प्रयास गर्छु । तर, म मगर संस्कृतिबाट टाढा थिएँ । म पूर्वको भएँ, ‘घरज्वाइँ’ पूर्वी रुकुमको कथा हो । जब यो फिल्मबाट प्रस्ताव आयो, त्यसपछि मगर समुदायको बारेमा बुझ्ने प्रयास गरेको थिएँ,’ उनले भने ।

मिरुनालाई भने आफू मगर समुदायकै भएपनि धेरै कुरा थाहा रहेनछ । ‘घरज्वाइँ’मा काम गरेपछि यो समुदायलाई अझ नजिकबाट बुझ्न पाएको उनको अनुभव छ । उनी भन्छिन्, ‘यो फिल्म गर्दा मगर समुदायको संस्कार र संस्कृति कति ‘रिच’ रहेछ भन्ने बुझ्न पाएँ । म पूर्वी रुकममा पुग्छु भनेर सोचेको पनि थिइनँ । त्यहाँ पुगेपछि मैले बुझेकोभन्दा मगर संस्कृति अझ बढी रहेछ भन्ने थाहा पाएँ ।’

 

Premiere-Gharjwai


फिल्मका निर्देशक अनिल बुढा मगरले भने प्रिमियरमा एउटा रहस्य खुलाए । फिल्मको कथा उनकै परिवारभित्रको रहेछ । ‘यो मैले भोगेको कथा हो । मैले समाजलाई जसरी देखेँ, भोगेँ र बुझेँ त्यही कुरा देखाएको छु,’ उनले भने, ‘यो खासमा मेरो बहिनी र ज्वाइँको कथा हो ।’ जनकघर्ती मगरको निर्माण रहेको फिल्ममा पुष्कर गुरुङ, शिशिर बाङ्देल, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।