कुनै समय फिल्म तथा टेलिसिरियलका सक्रिय कलाकार हुन्, ध्रुव थापा । तर, अमेरिका बस्न थालेपछि उनको अभिनय यात्रा टुट्यो । अब फिल्म ‘ईश्वर’बाट करिब एक दशकपछि उनी अभिनयमा फर्किएका छन् । यसमा उनले निर्माताको पनि जिम्मेवारी उठाएका छन् । आगामी साउन ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा आफू निडर र निष्ठावान चरित्रमा रहेको उनको भनाई छ ।
‘फिल्ममा निडर, निष्ठावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया र मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ,’ यतिबेला अमेरिकामा रहेका ध्रुव भन्छन् । ‘ईश्वर’मा सुनील थापा, सबिन बास्तोला जस्ता पुराना कलाकारसँग काम गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् । तर, उनी आफूलाई पनि समय र अनुभवले ‘जुनियर’ मान्दैनन् ।
‘कामको आधारमा मसँग काम गर्ने कलाकारहरु धेरै अग्रज हुनुहुन्छ । तर, समय र अनुभवले गर्दा म आफूलाई ‘जुनियर’ मान्दिनँ । किनकि, एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो भन्ने कुरा मैले राम्ररी बुझेको छु’, उनी अगाडि भन्छन्, ‘फिल्ममा स्थापित कलाकारहरुसँग काम गर्न धेरै सहज र रमाइलो भयो । मलाई पनि नियमित रुपमा काम गरिरहेको छु भन्ने महसुस भएको थियो ।’
ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतिमा गीति कथा एवं रेडियो नाटकबाट कला यात्रा थालेका थिए । त्यसपछि स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म तथा टेलिफिल्म हुँदै उनले केही फिल्ममा अभिनय गरे । उनले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’ जस्ता धेरै सिरियलमा अभिनय गरेका छन् ।
लामो समय अभिनयबाट टाढा बस्नुको एउटा महत्त्वपूर्ण कारण भने फिल्म क्षेत्रमा मौलाएको नातावाद र कृपावादलाई मान्छन्, ध्रुव । ‘त्योबेला म कला क्षेत्रमा स्थापित हुन नसकेको हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद एवं कृपावाद आदि कारणले म केही समय हराएँ । अहिले सबै कुरा मिलाएको छु । यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु,’ उनले भने ।
कविता, गीत र गजल लेख्न रुचाउने ध्रुव अब हरेक वर्ष दुईवटा फिल्म निर्माण गर्ने सोचमा छन् । त्यसको सुरुवात ‘ईश्वर’बाट भएको उनको भनाई छ । उनी यो फिल्मलाई लिएर उत्साहित देखिन्छन् । ‘प्रदर्शन मिति नजिकिँदै गर्दा मलाई डरभन्दा बढी उत्साह छ । किनभने, फिल्म राम्रो बनेको छ । कथा एकदमै बलियो छ । फिल्मले दर्शकलाई सन्तुष्टि दिन्छ भन्नेमा म विश्वस्त छु’, उनी भन्छन् ।