अभिनयमा पारंगत मानिएका अभिनेता नाजिर हुसेनले पहिलोपटक ट्रान्सवुमन (पारालैंगिक महिला)को भूमिकामा अभिनय गरेको फिल्म ‘गुन्यो चोलो’ आगामी कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । नाजिरलाई चित्रित गर्दै बिहीबार सार्वजनिक एक पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । तिहार विदालाई लक्षित गरेर फिल्म प्रदर्शनमा आउन लागेको हो ।
सार्वजनिक पोस्टरमा नाजिरको लुक्स जबर्जस्त छ । उनी दुरुस्त पारालैंगिक महिला देखिएका छन् । ओठमा लिपिस्टिक, आँखामा गाजल, नाकमा नथिया र कानमा ठूलो रिङ लगाएका उनको कपाल छोटो छ । अनुहारमा निलडाम देखिन्छ भने छातीमा चोटको दाग छ । एउटा हातमा स्यान्डिल र अर्को हातमा नक्कली कपाल लिएका उनको आँखामा पीडा र निराशाको भाव झल्किएको छ ।
समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं लगायतको पनि अभिनय छ । फिल्ममा सञ्चिताले नाजिरको आमाको भूमिका निर्वाह गरेको जानकारी प्राप्त छ । निर्देशक भट्ट र अभिनेता हुसेनको संयुक्त पटकथा तथा संवाद रहेको फिल्मको ‘पोस्ट प्रोडक्सन’को सम्पूर्ण काम नेपालबाहिर गरिएको छ ।
यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । यसमा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्यूजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसी (हलिउडका ट्रयाक उत्पादक)ले गरेका छन् । छायाँकार भने आलोक शुक्ला हुन् । सार्वजनिक पोस्टरले फिल्मप्रति दर्शकमा उत्साह बढाउने देखिन्छ ।