संसारकै प्रतिष्ठित फिल्म फेस्टिभल ‘लोकार्नो’को ७७औं संस्करणमा नेपाली फिल्म ‘शाम्बाला’ छानिएको छ । पियाजा ग्राण्डे विधामा फिल्म छनोट भएको फेस्टिभलको वेबसाइटमा उल्लेख छ । आगामी साउन २३ देखि भदौ १ गतेसम्म चल्ने फेस्टिभलमा फिल्मका निर्देशक मीनबहादुर भामसहितको टिम सहभागी हुनेछन् । ‘लोकार्नो’मा फिल्म छानिनुलाई निर्माण टिमले अविश्वसनीय भनेको छ ।
निर्माण कम्पनी सोनी फिल्म्सले सामाजिक सञ्जालमा बक्तव्य जारी गर्दै भनेको छ, ‘यो अविश्वसनीय समाचार हो । लोकार्नो बोल्ड र नवीन फिल्ममा आफ्नो फोकसको लागि प्रख्यात छ । त्यसैले पियाजा ग्राण्डे खण्डको लागि ‘शाम्बाला’लाई छनोट गर्नु अविश्वसनीय हो । हामी ठूलो पर्दामा फिल्म हेर्न र स्वीस दर्शकसँग साझेदारी गर्न धेरै पर्खन सक्दैनौं । यो एक सानदार उत्सवको आयोजना हो ।’
‘शाम्बाला’ गत वर्ष विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धा अर्थात् अन्तर्राष्ट्रिय विधातर्फ छानिएको थियो । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । १४ करोडको लागतमा निर्माण भएको फिल्मले निर्माणअघि नै कयौं अन्तर्राष्ट्रिय ‘फन्ड’ जितिसकेको थियो । हिमाली कथा भन्ने फिल्ममा थिन्ले ल्हामो, कार्म शाक्य, सोनम तोप्देनको अभिनय छ ।
‘शाम्बाला’ छानिएको ‘लोकार्नो’ फेस्टिभलमा बलिउड अभिनेता शाहरुख खानलाई पनि सम्मान गरिँदैछ । भारतीय फिल्ममा उनको उल्लेखनीय करिअरका लागि ‘करिअर्सि अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको लोकार्नो फेस्टिभलको आर्टिस्टिक निर्देशक जियोना ए.ले बताएका छन् । यो महोत्सवमा शाहरुखको सर्वाधिक सफल र यादगार फिल्म ‘देवदास’ पनि देखाइने जनाइएको छ ।