अघिल्लो साता आएको दक्षिण भारतीय फिल्म ‘कल्की’को हिन्दी डबले नेपालमा पहिलो हप्ता आक्रामक व्यापार गर्यो । फिल्मप्रति दर्शकको क्रेज अझै उस्तै छ । दोस्रो साता पनि व्यापार राम्रो हुने देखिन्छ । हलहरुमा ‘कल्की’ले एकछत्र दबदबा कायम गरिरहँदा शुक्रबारबाट सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘घरज्वाइँ’ले प्रदर्शन सुरु गरेको छ ।
यो फिल्मलाई ‘कल्की’को मात्र चुनौती छैन । शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘इन्डियन २’ र ‘सरफिरा’ पनि ठूलो चुनौती हुन् । यी तीन ठूला भारतीय फिल्मको चुनौती चिर्न ‘घरज्वाइँ’लाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । यद्यपि, विदेशी फिल्मका बावजूद पनि फिल्मलाई उल्लेख्य शोज मिलेको छ । अब त्यसमा दर्शक भर्नुपर्ने चुनौती फिल्मलाई छ ।
‘घरज्वाइँ’ चल्न सक्ने दुईवटा आधार देखिन्छन् । पहिलो, दयाहाङ राई र मिरुना मगरको जोडीको प्रभाव व्यापारमा देखिन सक्नेछ । किनकि, यसअघि उनीहरुले चारवटा सफल फिल्म दिइसकेका छन् । दोस्रो, ‘घरज्वाइँ’ले मगर समुदायको कथा उठान गरेकाले आदिवासी जनजातिहरुले साथ दिन सक्नेछन् । यसअघि दयाहाङका केही फिल्म पनि यही समुदायको भरमा सफल भएका थिए ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, विवेश बुढा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको ‘घरज्वाइँ’का निर्मातामा भने जनकघर्ती मगर छन् ।