२०७१ सालमा आएको फिल्म थियो, ‘जेरी’ । यो अभिनेता अनमोल केसीको करिअरको दोस्रो फिल्म हो । यसले तत्कालीन समयमा राम्रो सफलता पाएको थियो । अब यही नामको पछाडि ‘अन टप’ थपेर निर्माता सरोज न्यौपानेले फिल्म निर्माण गर्न लागेका छन् । दुई साताअघि अभिनेत्री हेरफेरको विषयले विवादमा तानिएको यो फिल्मको यतिबेला नामलाई लिएर अर्को विवाद सुरु भएको छ ।
अनमोलसहित जसिता गुरुङ र आँचल शर्मालाई लिएर आगामी साउनबाट छायांकनमा जान लागेको यो फिल्मप्रति पुरानो ‘जेरी’का निर्माता मनोजकुमार शेरचन तथा सह-निर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन् । निर्माता सरोज न्यौपानेले आफूहरुसँग व्यावसायिक इमानदारिता नदेखाएको र अनुमति नै नलिइ बिना कुनै शुल्क ‘जेरी’को नाम भजाउन खोजेको उनीहरुको आरोप छ ।
निर्माता न्यौपानेले ‘जेरी’को सिक्वेलका रुपमा ‘जेरी २’ निर्माण गर्ने इच्छा देखाएपछि शेरचन र गौचनले १५ लाखमा शीर्षक प्रयोगको अनुमति दिएका थिए । सोही अनुरुप २०७९ असार २० गते दुई पक्षबीच कागजी सम्झौता भएको थियो । तर, ६ महिनापछि निर्माता न्यौपानेले अब ‘जेरी २’ नबनाउने निर्णय गरेको र ‘जेरी’ नाम पनि आवश्यक नपरेको बताउँदै शेरचनसँग पैसा फिर्ता मागेका थिए ।
आफूले पहिलो किस्तावापत् लिएको ५ लाख रुपैयाँ फिर्ता गरेर सम्झौता रद्द गरेको शेरचन बताउँछन् । ‘त्यसपछि हामी आफ्नै ‘जेरी २’ बनाउने सल्लाहमा लाग्यौं । तर, सोही बीचमा ‘जेरीः अन टप’ घोषणा गरियो । र, पोस्टरमा ‘जेरी’ शब्दलाई ठूलो र ‘अन टप’लाई सानो साइजमा राखियो । न्यौपानेको नियत हामीसित अनुमति नै नलिई बिना शुल्क ‘जेरी’ नाम भजाउनु रहेछ,’ उनले भनेका छन् ।
निर्माता न्यौपानेको क्रियाकलापले ‘जेरी: अन टप’ नै ‘जेरी’को सिक्वेल हो भन्ने भ्रम पैदा भएको र यो सत्य नभएको उनको दाबी छ । ‘अझै पनि ‘जेरीः अन टप’लाई ‘जेरी २’कै रुपमा प्रचार गरिएको छ । तर, पुरानो ‘जेरी’सँग यसको कुनै साइनो छैन,’ मनोजले भने । शेरचन र गौचनले बिहीबार चलचित्र विकास बोर्ड र निर्माता संघमा ‘जेरीः अन टप’ नामप्रति आपत्ति जनाउँदै निवेदन दिएका छन् ।
‘जेरी २’ टाइटलका लागि दुईपक्षबीच भएको सम्झौताको पत्र