एक वर्षअघि सार्वजनिक भएको लोकगायक प्रकाश सपूतको ‘सकम्बरी’ गीतले मोडल कुशुम शर्मालाई चर्चाको शिखरमा पुर्यायो । अहिले उनको उपनाम नै ‘सकम्बरी’ बनेको छ । यो बीचमा दर्जनौं म्यूजिक भिडियोमा काम गरेकी उनी अब फिल्मतिर ढल्किएकी छन् । उनले गत बैशाखमा ‘वर एन्ड वधु’बाट फिल्ममा डेब्यु गरिसकेकी छन् । तर, यसमा उनी सहायक अभिनेत्रीको रुपमा छिन् ।
उनले सम्झौता गरेको पहिलो फिल्म भने ‘सञ्जीवनी’ थियो । यसमा उनको जोडी अभिनेता आर्यन सिग्देलसँग बाँधिँदै थियो । तर, यो फिल्मको घोषणा भएको एक वर्ष वितिसक्दा पनि निर्माण हुने कुनै छाँटकाँट देखिएको छैन । यसैको पखाईमा करिब एक वर्ष कुनै फिल्म नगरेकी उनी अब अफर लत्याउने पक्षमा छैनन् । ‘वर एन्ड वधु’पछि कुशुमले अब फिल्म ‘माइली’मा काम गर्ने भएकी छन् ।
उनीसँग यसै साता निर्माण पक्षले कागजी सम्झौता गरेको हो । उनी भित्रिएसँगै फिल्मका लागि कलाकारको ‘लाइनअप’ पूरा भएको निर्देशक बाबुुसाहेब बलामीले जानकारी दिए । यसअघि फिल्ममा करिश्मा मानन्धर, प्रियंका कार्की, लोकगायिका कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्ध भइसकेका छन् । शीर्षक र कलाकारको ‘लाइनअप’ले फिल्म महिलाप्रधान रहेको प्रष्ट बुझिन्छ ।
निर्देशक बलामीले सत्य घटनामा आधारित भएर फिल्म बन्न लागेको बताए । फिल्ममा महिलाको पीडा र संघर्षलाई देखाइने उनको भनाई छ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद लेखन तथा राजेन्द्र बजगाईंको गीतमा संगीत रहेको छ । साउनभित्र छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं तथा दुबईमा छायांकन गरिँदै ।