मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

‘घरज्वाइँ’को सुखद् सुरुवात, मिरुना भन्छिन्, ‘दर्शक भेट्दा उर्जा मिल्छ’

फिल्मीखबर, काठमाडौं, 2024/07/12

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’को अगाडि ठूलो चुनौती थियो । एकातिर ठूला विदेशी फिल्महरुसँग प्रतिस्पर्धा र अर्कोतिर निरन्तरको वर्षातले व्यापार कस्तो हुने हो भन्ने अन्योलता छाएको थियो । यसका बावजूद फिल्मले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन फिल्मले देशभर राम्रो दर्शक पाएको छ ।

 

Gharjwai-Hall-Report (1)


फिल्मको बिहानी शो औसत रह्यो । एकाध हलमा भने अकुपेन्सी राम्रै देखिन्थ्यो । खासगरी फिल्मले दिउँसोबाट गति समातेको छ । काठमाडौंसहित मोफसलका ठूला स्टेशनहरुमा फिल्मले दिउँसो समग्रमा ५० प्रतिशत अकुपेन्सी कायम गर्दा साँझ ५ बजेपछि यो अनुपातमा थप वृद्धि भएको छ । वर्षात र ठूला विदेशी फिल्मको चुनौतीका बीच फिल्मलाई प्राप्त अकुपेन्सी सुखद् मान्न सकिन्छ ।

फिल्मका वितरक रोहित कट्टेलले आफ्नो फेसबुकमा काठमाडौंसहित बुटवल, दमक, नेपालगञ्ज, पोखरा जस्ता सहरमा हाउसफुल भएको स्क्रिनसटहरु पोस्ट गरेका छन् । धरान र दाङमा पनि फिल्मले दिउँसोबाट राम्रो दर्शक पाएको जनाइएको छ । शुक्रबारको व्यापारलाई मध्यनजर गर्दै केही हलहरुले शोजमा वृद्धि समेत गरेका छन् । शनिबार व्यापार थप बढ्ने निर्माण टिमको विश्वास छ ।

शुक्रबार दिउँसो मिरुनासहित कलाकार शिशिर वाङ्देल र निर्देशक अनिल मगरले काठमाडौंका केही हाउसफुल हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । जहाँ मिरुना र शिशिरसँग तस्वीर खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो । दर्शकले दिएको उत्साहजनक साथ र प्रतिक्रियाले आफूलाई उर्जा मिलेको मिरुनाले बताइन् । फिल्मले हलमा लामो यात्रा गर्नेमा उनी विश्वस्त छिन् ।

 

Gharjwai-Hall-Report (1)


‘हरेकपल्ट दर्शकलाई भेट्दा बेग्लै उर्जा मिलेको महसुस हुन्छ । मौसमका कारण मनमा के-के कुरा खेलिरहेको थियो । तर, हलमा दर्शकको उपस्थिति देखेर आनन्द महसुस भएको छ । हामीलाई उर्जा मिलेको छ,’ उनले भनिन्, ‘अहिले बिहेको सिजन छ । वर्षा पनि भैरहेको छ । यसका बावजूद हलमा आएर फिल्म हेरिदिनुभएको छ । आगामी दिनमा पनि साथ मिल्नेछ भन्नेमा विश्वस्त छु ।’

‘घरज्वाइँ’ले हलमा विभिन्न उमेर समुहका दर्शकलाई आकर्षित गरेको छ । त्यसमा पनि विशेषगरी आदिवासी जनजाति समुदायहरु बढी देखिन्छन् । यसको पछाडि दुईवटा कारण छ । एउटा, फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथा उठाएको छ । यसले गर्दा यो समुदायहरु आकर्षित भएको हुनसक्छ । दोस्रो, दयाहाङ र मिरुनाको जोडी पनि एउटा महत्त्वपूर्ण कारण हो ।